काठमाडौं । विश्वस्तरमा हेर्ने हो भने धेरै कमाइ गर्ने खेलाडीमध्येमा पर्ने एक खेल हो, लनटेनिस । नेपालमा पनि यसको लोकप्रियता बढ्दो क्रममा छ ।
नेपालमा टेनिसको भित्र्याउने श्रेय हेमबहादुर लामालाई जान्छ । जसको आइतबार ९५ वर्षको उमेरमा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाका क्रममा निधन भएको छ ।
उनको निधनसँगै नेपाली टेनिसमा एक युगको अन्त्य भएको छ । उनको आजै स्वयम्भूस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदै छ ।अन्तिम संस्कारअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा राखिएको थियो । सोही क्रममा भेटिएका पूर्वराष्ट्रिय खेलाडी कृष्णराज घलेले बाह्रखरीसँग भने, ‘‘नेपाली टेनिसमा एउटा युगको अन्य भएजस्तो महसुस गरेका छौँ । हामीलाई हाम्रो अभिभावक अस्ताएको जस्तो लागेको छ । टेनिसको एक संरक्षक गुमाएको महसुस गरेका छौँ ।’’सन् १९२९ डिसेम्बरमा जन्मिएका हेमबहादुर केही समय बर्मामा बसे । त्यहीँ टेनिस सिके । नेपाल फर्किए । नेपालमा पनि टेनिसको सुरुआत गरे ।
उनका तीन छोरा एक छोरी छन् । सबैले उमेरमा टेनिस खेले । नेपालको नम्बर एक भए । जेठो छोरा राज लामा र कान्छो सुजे लामा अहिले अमेरिकामा छन् । उनीहरू एक नेपालका पूर्वनम्बर एक खेलाडी हुन् । माइला छोरा क्याप्टेन विजय लामा पनि टेनिसका राम्रा खेलाडी हुन् ।
‘‘अत्यन्तै दुःखका साथ मेरो प्यारो ‘बाउ’ले सधैँको लागि हामी सबैलाई छोडेर जानुभएको अवगत गराउन चाहन्छु,’’ हेमका माइला छोरा विजय लामाले फेसबुकमा लेखेका छन्, ‘‘करिब दुई हप्तादेखि स्वास्थ्यमा कठिनाइ आएकोले उहाँ मनमोहन अस्पतालमा सीसीयूमा हुनुहुन्थ्यो । उहाँले अन्तिम सास लिनुभयो । मेरो आमाले पनि यसैगरी मेरो हातमा अन्तिम सास लिनुभएको थियो ।’’
हेमबहादुरले पछिल्लो समय बालुवाटारस्थित आफ्नै घरको प्रांगणमा टेनिस कोट बनाएर प्रशिक्षण दिँदै आएका थिए । हेम्स टेनिस एकेडेमी । पछिल्लो समय उक्त एकेडेमी श्रवण कार्कीले हेरिरहेका छन् । उनको एकेडेमीबाट धेरै खेलाडी जन्मिएका छन् ।
‘‘नेपालमा टेनिसलाई यहाँसम्म पुर्याउने मुख्य हात नै उहाँको हो,’’ टेनिसका प्रशिक्षण कृष्णराजले भन्छन्, ‘‘झन्डै १९६० तिरै उहाँहरूले टेनिस खेल्न थाल्नुभएको हो । मैले थाहा पाएसम्म उहाँले बर्मामा टेनिस सिकेर आउनुभएको हो । नेपालमा टेनिसको जागरण ल्याउने काम उहाँले नै गर्नुभएको हो । टेनिसको गडफादर भन्दा फरक पर्दैन ।’’
कृष्णराजले पहिलोपटक १९७८ तिर हेमबहादुरलाई भेटेका थिए । त्यति बेला कृष्णराज हल्काफुल्का टेनिस खेल्थे । सिनियर खेलाडी र प्रशिक्षक खोज्दै जाने क्रममा हेमबहादुरसँग कृष्णराजको भेट भएको थियो । त्यति बेलै हेमबहादुरको पहलमा भारतबाट खेलाडी बोलाएर टेनिस प्रतियोगिता गरेका थिए ।
पुरानो दिन सम्झिँदै प्रशिक्षक कृष्णराजले भने, ‘‘उहाँहरूले त्यति बेला पनि ठूलाठूला प्रतियोगिता आयोजना गर्नुहुन्थ्यो । भारतबाट खेलाडी ल्याएर खेलाउने काम गर्नुभएको थियो । कोट त बहादुर भवनमा पनि थियो, विश्वज्योति हल पछाडितिर पनि थियो । त्रिपुरेश्वरमा हिट सेन्टर भन्ने कोर्ट थियो । त्यहीँ प्रतियोगिता हुन्थ्यो । अन्तर्राष्ट्रियस्तरको कोर्ट बनाएर प्रतियोगिता गर्नुहुन्थ्यो । दिल्ली, कोलकाताबाट खेलाडी बोलाउनुहुन्थ्यो ।’’
हेमबहादुर टेनिस संघको अध्यक्ष पनि भए । तर, पछिल्लो समय संघभित्र किचलो भएपछि अलग भएर बसेका थिए । उनी बक्सिङमा पनि रुचि राख्थे । गल्फ खेल्थे ।
हेमबहादुर बहुप्रतिभाशाली व्यक्ति हुन् । उनी टेनिसमा मात्र अल्झिएर बसेका थिएनन् । उनले आदर्श नारी चलचित्र पनि बनाएका थिए । आफैँले निर्देशन गरेका थिए ।
त्यति बेला काठमाडौंको तीनकुनेमा जग्गा रोपनीको ४५ हजार रुपैयाँ पर्थ्यो । त्यहाँ भएको जग्गा बेचेर १६ लाख ७५ हजारमा चलचित्र बनाएका थिए । आफैँले निर्देशन गरेको चलचित्रमा उनले छोरा विजयलाई नायकका रूपमा खेलाए । विजय त्यही चलचित्रबाट कलाकारिता क्षेत्रमा उदाए । आज विजयलाई नचिन्ने कमै छन् ।
उनी समाजशास्त्री पनि थिए । किताब लेखेका थिए । अंग्रेजी भाषामा राम्रो दख्खल भएका हेमबहादुरले अंग्रेजी ‘ग्रामर’सम्बन्धी किताब लेखेका थिए । बैंकर पनि थिए । उनले गैरनाफामुखी स्कुल सञ्चालन गरेका थिए ।
‘‘यस्तो स्रष्टाहरूलाई जीवित हुँदा नै खोज्नुहोस्, बितिसकेपछि यस्तो थिए, उस्तो थिए भन्नुको अर्थ छैन । जीवित हुँदा योगदानको कदर गर्नु नै सबैभन्दा ठूलो सम्मान हो,’’ विजय भन्छन्, ‘‘आज एउटा यस्तो तारा अस्ताए । नेपालमा टेनिसको उहाँ गडफादर हो । चलचित्रको पनि गडफादर हो । आज यस्तो भन्ने समय त होइन, तर रोक्न सकिनँ । उहाँको कृतिहरू, उहाँले राम्रो कुराहरू...। दुःख होइन, उहाँको खुसी मात्र बाँड्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १६ : ०१
लेखकबाट थप