बाल मनोविज्ञानमा खेलवाड, नेपाली पुस्तकमा अझै राखिएनन् शुद्ध शब्द

मंगलबार, ०८ जेठ २०७५, १८ : ४३
बाल मनोविज्ञानमा खेलवाड, नेपाली पुस्तकमा अझै राखिएनन् शुद्ध शब्द

काठमाडौँ । नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको छैन  ।साना कक्षाका पुस्तकमा अशुद्ध शब्द राखिँदा बाल मनोविज्ञानमा यही सही हो भन्ने भान परेको छ । प्रकाशन गृहले विसं २०७३ अघिकै संस्करणका पुस्तक बेचिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

ती पुस्तकमा शुद्धलाई ‘शुद्ध’ लेखिएको छ । यस्ता गल्ती पृष्ठैपिच्छे छन् । धेरै शब्द गल्ती लेखिएको छ । भाषा बचाऊ अभियानका अभियानकर्मी चुडामणि गौतम शैक्षिक सत्र २०७४ मै नयाँ संस्करण निकाल्न अनुरोध गरेको बताउनुहुन्छ । प्रकाशकले अर्बौँको लगानी डुब्छ भनेर अझै शब्द शुद्धीकरण नगरेको उहाँ सुनाउनुहुन्छ ।

सुधारिएको एक वर्ष बितिसक्दा शैक्षिक सत्र २०७५ मा पनि प्रकाशकले नयाँ संस्करण ननिकाली बाल मनोविज्ञानमा खेलवाड गरेको अभिभावक रामचन्द्र सिम्खडाको भनाइ छ । प्रतिष्ठानले प्रकाशन गर्न लागेको नेपाली बृहत् शब्दकोशको दशौँ संस्करणलाई कुरेको अभियानकर्मीले जनाएका छन् ।

यसरी अशुद्ध पुस्तक प्रकाशन गर्ने मध्येको टेक्सलाइनर पब्लिकेशन पनि एक हो । पब्लिकेशनले विसं २०७२/२०७३ मै प्रकाशन गरेको नेपालीका पुस्तक अझै बिक्री गरिरहेको छ । प्रकाशनकी कर्मचारी शोभा महर्जन पुरानै पुस्तक बिक्री गरिरहेको स्वीकार्नुहुन्छ । यससम्बन्धी विस्तृत जानकारी लिन उहाँले दिनुभएको ध्रुव पराजुलीलाई पटकपटक सम्पर्क गरेपछि उहाँले प्रबन्ध निर्देशक शोभित बस्नेतको मोबाइल नम्बर दिनुभयो । त्यो नम्बरमा पटकपटक सम्पर्क गर्दा पनि फोन उठेन ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारी २०७३ साल चैत २९ गते चारबुँदे निर्णय गरी सरोकार भएका निकायलाई कार्यान्वयनका लागि पत्राचार गरिएको बताउनुहुन्छ । केन्द्रबाट स्वीकृति लिएका पुस्तक तीन वर्षपछि मात्र पुनस्र्वीकृति लिनुपर्ने व्यवस्था भएकाले त्यस्ता पुस्तक विद्यालयले अध्यापन गराइरहेको हुनसक्ने उहाँको भनाइ छ ।(रासस)

प्रतिक्रिया दिनुहोस