आईपीएल : कोलकातासँग हैदरावाद पराजित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ११ : १४
आईपीएल : कोलकातासँग हैदरावाद पराजित

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले शनिबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ । 

जितसँगै कोलकाता १२ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो । यससँगै हैदरावादको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै गएको छ भने कोलकाताले आशा जीवित राखेको छ । यसअघि, प्लेअफमा स्थान बनाइसकेको गुजरात टाइटन्सले १८ अंक जोडेको छ । १६ अंक जोडेको लखनउ सुपर जायन्ट दोस्रो स्थानमा छ । समान १४ अंक जोडेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमश तेस्रो र चौथो स्थानमा छन् । दिल्ली क्यापिटल्स, कोलकाता र पञ्जाब किंग्सको समान १२ अंक छ । 

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटमा १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका एन्ड्रयु रसेलले २८ बलमा अविजित ४९ रन बनाए । साम विलिङ्सले ३४, अजिणक्या रहानेले २८ र नितिश रानाले २६ रन बनाए । कप्तान श्रेयस ऐयरले १५ रन जोडे । हैदरावादका उमरान मलिकले तीन विकेट लिए । भुवनेश्वर कुमार, मार्को जनसेन र टी नटराजनको नाममा एक एक विकेट रह्यो । 

१७८ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक शर्माले सबैभन्दा धेरै ४३ रन बनाए । एइडेन मारक्रमले ३२  र शशांक सिंहले ११ रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

ब्याटिङमा अविजित ४९ रन बनाएका कोलकाताका रसेलले चार ओभरमा २२ रनमा तीन विकेट लिए । टिम साउथीले दुई विकेट लिए । उमेश यादव, सुनील नारिन र वरुण चक्रवर्तीको नाममा एक एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस