काठमाडौं । फरवार्ड इर्लिङ हालान्डले गोल गरेको खेलमा बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनविरुद्ध २–१ विजयी नतिजा निकालेको छ । हालान्डको जर्मन क्लब डर्टमन्डका लागि यो अन्तिम खेल हो ।
नर्वेका फरवार्ड हालान्डले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । त्यसअघि पाहुना टोली हेर्था बर्लिनले इशाक बेलफोडिलको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन ६ मिनेट बाँकी हुँदा युसुफा मौकोकोले गरेको गोल डर्टमन्डको जितमा निर्णायक बन्यो । जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । डर्टमन्ड शीर्ष क्लब बायर्नभन्दा आठ अंकले पछाडि रह्यो । पराजित हेर्था बर्लिन भने रेलिगेसन प्लेअफमा धकेलियो । बुन्डेसलिगाबाट ग्रेउथर फुर्थ र अर्मेनिया बिलेफिल्ड रेलिगेसनमा परेको छ ।
२०२० मा डर्टमन्डसँग अनुबन्ध भएका हालान्डले सबैखाले प्रतियोगितामा गरी ८९ खेलमा ८६ गोल गरेका छन् । हालान्ड अर्को सिजनका लागि इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका छन् । २१ वर्षे हालान्ड सल्जबर्गबाट डर्टमन्ड आएका थिए ।
डर्टमन्डले स्पोटर््स निर्देशक माइकल जोर्कसँग अन्य केही खेलाडीलाई पनि गएराति बिदाइ गरेको थियो । डर्टमन्डबाट एलेक्स विटसल र डान–एलेक्स जगाडोउ पनि बिदा भएका थिए । त्यस्तै, लोनमा आएका मारिन पोन्ग्रासिक र रेइनियर जेसस पनि बिदा भए भने मार्सेल स्मेल्जरले सन्यास घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १० : ५२
लेखकबाट थप