के थियो शेर्पाले थापालाई लगाएको आरोप ?

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १५ : ०८
के थियो शेर्पाले थापालाई लगाएको आरोप ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव नजिकिँदै गर्दा पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई आफूमाथि लगाएको आरोप सावित गर्न चुनौती दिएका छन् ।बुधबार थापाले एन्फा अध्यक्ष शेर्पाले आफूमाथि लगाएको अरोप निराधार र कपोकल्पित रहेको जिकिर गरे । निराधार आरोपका कारण ‘आफू र आफ्नो परिवारमा अत्यन्तै गहिरो मानसिक आघात पुगेको’ उनले बताएका छन् ।

थापाले अब युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), राष्ट्रिय मानवअधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

थापाका अनुसार यी हुन् कर्माछिरिङ शेर्पाले विभिन्न समयमा थापामाथि लगाएका आरोप–
१. गोल्ड प्रोजेक्टअन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरूले दिएको रकमहरू पनि अडिटमा नदेखाएको र ठूलो आर्थिक अनियमितता भएको ।
२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको आठ करोड रुपैयाँ गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको ।
३. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरूको नाममा राखी अनियमितता गरेको ।
४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको । 
५. साथी भन्ने संस्थालाई एक लाख ५० हजार डलर दिएको ।
६. एन्फाको रकम ३२ प्रतिशतमा ब्याजमा लगाएको ।
७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको ।
८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको । 
९. कतार फुटबल संघले आठ लाख डलर दिएकोमा एन्फाको खातामा दुई लाख डलर मात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको । 
१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको ।
११. साफ च्याम्पियनसिपको दौरानमा दुई करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको ।
१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र थापालाई जेलमा हाल्ने ।
१३. अरेन्ज प्रोजेक्ट र सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको ।
१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा दुई करोड १८ लाखको हिसाब देखाएको तर फिफामा करिब तीन करोडको हिसाब पेस गरेको र त्यसमध्येबाट ४० लाख रुपैयाँ खेलाडी कोषमा राखेर ६० लाख रुपैयाँ हिनामिना गरेको ।

थापाले बुधबार पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको १४ आरोप बुँदागत रूपमा पेस गरेका थिए । ती आरोपहरूका विषयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर छानबिन गरेको र छानबिनपश्चात सफाइ पाएको पनि दाबी गरेका छन् ।“तर, उहाँले मेरा विषयमा विभिन्न मिडियाले राखेका प्रश्नमा अख्तियारले तामेलीमा राखेको छ भन्नेजस्तो र सार्वजनिक लेखा समितिले कारबाही गर्‍यो, फिफाले पनि कारबाही गर्‍यो भन्नेजस्ता भ्रमपूर्ण अभिव्यक्ति दिने क्रमलाई अझैसम्म रोक्नुभएको छैन,” थापाले भने ।

पूर्वअध्यक्ष थापाले शेर्पालाई आरोपको सत्यता प्रमाणित गर्नका लागि चुनौती दिँदै प्रश्न गरेका छन्–
१. सार्वजनिक लेखा समितिले मलाई कहाँ कारबाही गरेको छ ?
२. फिफाले मलाई गरेको कारबाही तपाईंले लगाएका आरोपका आधारमा हो ?
३. अख्तियारले गरेको निर्णय तपाईंलाई चित्त नबुझेको भए यति लामो समयसम्म तपाईं के हेरेर बसिरहनुभएको छ ?

पूर्वअध्यक्ष थापाले आफू र आफ्नो परिवारले लामो समयदेखि भोगेको मानसिक पीडाको अन्त्य हुनुपर्ने पनि बताए । थापाले अब शेर्पासँग दुई विकल्प मात्र बाँकी रहेको जिकिर गरेका छन् ।

“उहाँले ममाथि लगाएका आरोपहरू प्रमाणित गर्नुभए म कारबाही भोग्न तयार छु । अन्यथा, एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ,’’ थापाले भनेका छन्, ‘‘एन्फा र फिफाको विधानानुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुटो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफा कोड अफ इथिक्समा लेखिएको छ ।”

एन्फा निर्वाचन आउँदो असार ६ गतेका लागि तोकिएको छ । निर्वाचनको सम्मुखमा गरिएको थापाकोे पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पा र पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने निश्चित छ । पूर्वअध्यक्ष थापाविरुद्ध ‘चेन्ज एन्फ’ अभियान सञ्चालन गर्दा शर्पा र नेम्वाङ एकै कित्तामा थिए । अहिले शेर्पा र नेम्वाङ स्पष्ट दुई कित्तामा उभिएका छन् । पछिल्लो समय नेम्वाङ र पूर्वअध्यक्ष थापा एक ठाउँमा छन् ।

त्यसकारण सामाजिक सञ्जालमार्फत पटक–पटक शेर्पालाई आफ्नो आरोप पुष्टि गर्न चुनौती दिँदै आएका थापाले पत्रकार सम्मेलन नै गर्नुलाई चुनावी रणनीतिका रूपमा पनि हेरिएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले थापालाई आर्थिक अनियमिततामा सामेल रहेको तथा फिफा आचारसंहिताको गम्भीर प्रकृतिका नियम उल्लंघन गरेकामा दोषी ठहर्‍याउँदै १० वर्ष फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको छ । त्यसका बाबजुद उनले एन्फा चुनावअघि पत्रकार सम्मेलन गरेर शेर्पालाई चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस