न्युनतम योग्यता ‘झापा’ भएका खतिवडालाई अवसरमाथि अवसरको चाङ

सोमबार, ०७ जेठ २०७५, १८ : ३८
न्युनतम योग्यता ‘झापा’ भएका खतिवडालाई अवसरमाथि अवसरको चाङ

काठमाडौं । नातावाद, कृपावादको पछि नलाग्न सांसदलाई निर्देशन दिएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडी शक्तिमा पुग्ने गजबको न्युनतम योग्यता चाहिन्छ ।

त्यो हो– झापा ।

उनले सांसदलाई आदर्शको निर्देशन दिए पनि आफुचाहीँ मुक्त हुन सकेका छैनन् । त्यसको पछिल्लो उदाहरण हो पूर्वगभर्नर युवराज खतिवडालाई दिइएको ‘अवसरको छलाङ’ । खतिवडाको न्युनतम योग्यता ‘झापा’ हो । त्यसपछि उनी ओलीको निर्वाचन क्षेत्रका व्यक्ति पनि हुन् । अर्को तत्कालिन एमालेलाई सहयोग गर्दै आएका कारणले योजना आयोगमा पूर्व उपाध्यक्षको जिम्मेबारी र माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गभर्नरको जिम्मा पाउनु ।

अवसरमाथि अवसरको चाङ थप्दै गएका खतिवडालाई ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरे । उनलाई सांसदमा सीमित राखिएन, पहिलो पटक संघीय सरकारको अभ्यासमा गएको मुलुकको अर्थमन्त्रीको जिम्मेबारी ‘काख’ राखिदिइयो ।

र, अहिले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिमा मनोनित सदस्य ! ‘आदर्श शव्दमा बिक्ने औजार हो । व्यवाहारमा बिक्नेचाहीँ नातावाद, कृपावाद र लम्पसारवाद नै हो । खतिवडाले यति धेरै अवसर पाउनुको कारण के हो ?’, एकजना नेकपा सदस्यले प्रश्न गरे,‘उनीभन्दा योग्य मान्छे ओलीका नजरमा कोही परेनन् ? कि छैनन् ?’

कम्युनिस्ट सिद्धान्त र आदर्शका सवालमा गहन अध्येताहरू लामो समयदेखि संगठनमा सक्रिय रहे पनि भनेजस्तो जिम्मेबारी पाउन सफल छैनन् । पार्टी खुम्चिँदा नपाउनुलाई चित्त बुझाउन सकिए पनि ठूलो आकारमा हुँदा बाहिरबाट मान्छे ल्याउनु विभेदकारी नीतिको उपज ठान्छन् कार्यकर्ताहरू ।

खतिवडाले तत्कालिन एमालेको कुनै पनि संगठनमा सक्रिय काम गरेका छैनन् । उनीसँग संगठित सदस्यताचाहीँ हुनसक्छ । ति सदस्यले भने,‘त्यसमा पनि शंका छ ।’
एमाले सत्ताको वरिपरि रहँदादेखि नै खतिवडाले अवसरमाथि अवसर पाउँदै गए । राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षको जिम्मेबारी, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभा सदस्य र अर्थ मन्त्रालय हाँक्ने जिम्मेबारी उनलाई सुम्पियो ।

‘संगठन र पार्टी भनेर मरिमेट्नेहरूका लागि उनी उदाहरण हुन् कि नैराश्यता कारणका अवसरवादी पात्र ? यो संगठनको नेतृत्व गर्नेले विश्लेषण गर्नुपर्छ ।’, तत्कालिन एमालेका केन्द्रीय सदस्यले भने,‘लामो समय काम गरेका, अवसर नपाएकालाई एउटा जिम्मेबारी थपिदिँदा के जान्थ्यो ?’

प्रतिक्रिया दिनुहोस