पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने

सोमबार, ०७ जेठ २०७५, १४ : २३
पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।

महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो । हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा पाँच हजार जरिवाना गरिने निर्णय भएको छ ।

स्थायी संरचना र ग्यारेजहरुले सडक छेउमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो । बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै उहाँले भन्नुभयो, “बीच सडकमा विद्युत्को पोल हुँदा दुर्घटना हुनाका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको छ ।”  (रासस)

प्रतिक्रिया दिनुहोस