सुवेदीलाई स्वागत जोशीलाई बिदाई

आइतबार, ०६ जेठ २०७५, २० : ५८
सुवेदीलाई स्वागत जोशीलाई बिदाई

चितवन । भरतपुर महानगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलाई स्वागत र गृह मन्त्रालयमा सरूवा भई जान लाग्नु भएका प्रेमराज जोशीलाई बिदाई गरेको छ ।
गतवर्ष फागुनदेखि महानगरमा हाजिर भई महानगरको बृहत्तर हितमा कुशलतापूर्वक कार्य सम्पादन गर्नु भएको भन्दै जोशीलाई महानगर प्रमुख रेनु दाहालले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका नेत्रप्रसाद सुवेदीलाई स्वागत गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको रूपमा चितवनमा सरूवा भई आउनु भएका जितेन्द्र बस्नेत र प्रहरी प्रमुखको रूपमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई समेत स्वागत गरिएको थियो । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न स्वागत तथा बिदाई कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रेमराज जोशीले आफ्नो कार्यकालभर भ्याएसम्म राम्रो गर्ने कोशिस गरेको भन्दै भब्य बिदाई गरेर आफूलाई भरतपुर महानगरपालिकाले ठूलो ऋण लगाएको बताउनु भएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर महानगरको तीब्र विकास र सुशासन कायम गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै यस कार्यमा सबैको सहयोग रहने अपेक्षा राखेको बताउनु भयो ।


 

प्रतिक्रिया दिनुहोस