भारतको गुजरात राज्यमा सडक दुर्घटना १९ मजदुरको मृत्यु

शनिबार, ०५ जेठ २०७५, १७ : ३०
भारतको गुजरात राज्यमा सडक दुर्घटना १९ मजदुरको मृत्यु

भारत । भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन । यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा परी १८ जनाको घटना स्थलमा नै र अन्य एक घाइतेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको बताइएको छ ।

सिमेन्टका बोरा लिएर गइरहेको उक्त ट्रकमा ती सिन्मेटका बोरामाथि बसेर गइरहेका मजदुरको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । गुजरात राज्यको अति व्यस्त सडकमा दुर्घटना भएको र पछिल्लो समयमा भएका दुर्घटना मध्ये यो सबैभन्दा धेरै प्राणघातक भएको अधिकारीले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये १२ जना महिला रहेका छन् भने तीन जना किशोरावस्थाका र चार जना पाका पुरुष रहेका छन् । दुर्घटनामा परी मृत्यु भएका सवै मजदुर कामका लागि आनन्द जिल्लामा पर्ने कार्यस्थलतर्फ गइरहेका थिए । उनीहरु आफ्नो कार्यस्थलमा जानको लागि सिन्मेटको बोरा बोकेर गइरहेको ट्रक चालकलाई १२ सय भारु तिरेका बताइएको छ ।

दुर्घटनाको अनुसन्धानको क्रममा भएको प्रारम्भिक विवरणकाअनुसार चालक निदाएर सडकमा ट्रकको पाङग्रा चिप्लिएर दुर्घटना भएको जस्तो देखिएको एक प्रहरी अधिकारीले बताए । ती अधिकारीले घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको पनि जानकारी दिए ।

शुक्रबार मात्रै उत्तराखण्डमा एउटा ट्रकले तिर्थयात्रीलाई ठक्कर दिदाँ कम्तीमा ११ जनाको मृत्यु भएको थियो । सडक दुर्घटनामा परी विश्वमै सवैभन्दा धेरै जनाको मृत्यु हुने देशमा भारत पर्दछ । भारतमा हरेक बर्ष एक लाख ५० हजार भन्दा बढीको मृत्यु हुनेगरेको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस