नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाइने : शंकराचार्य निश्चलानन्द

बुधबार, ०२ जेठ २०७५, २० : ५०
नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाइने : शंकराचार्य निश्चलानन्द

काठमाडौँ । जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतले नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाउनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले आज कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गरेको विशेष प्रवचनमा उनले नास्तिक मानिसका पनि अन्तरात्मा आस्तिक हुने बताए ।

‘विज्ञान वेदकै अंग हो, वेदकै अध्ययनले पश्चिमी देशका मानिसले ठूला वैज्ञानिक उपलब्धि हासिल गरेका छन्, हामी वेदको पूजा र पाठमा मात्र केन्द्रित भई भनेका कुरा व्यवहारमा उतार्न नलाग्दा पछि परेका छौँ,’ उनले भने ।  

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, विभागका प्रमुख नारायण गौतमलगायतका वक्ताले वैदिक दर्शनलाई नेपाली भाषामै सहज ढंगले पठनपाठनको व्यवस्था मिलाइनुपर्नेमा जोड दिए ।

यसअघि आज बिहान गोल्डेन गेट कलेजले आयोजना गरेको कार्यक्रममा पनि शंकराचार्य निश्चलानन्द सरस्वतीले पुष्पक विमानको प्रसंगबाटै आधुनिक हवाई जहाजको विकास भएको भनाइ राखे ।

उनले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेखेका छन् । उनको योगदानको कदर गर्दै आज कीर्तिपुरमा अभिनन्दनसमेत गरियो ।

बिहीबार शंकराचार्य निश्चलानन्द देवघाटको दर्शनमा जानुहुने जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समितिका सदस्य अर्जुनप्रसाद बास्तोलाले राससलाई जानकारी दिए ।

यसैगरी उनले जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि प्रवचन गर्नेछन् । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योर्तिमठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुन् । यो मठका शंकराचार्य १५० वर्षपछि नेपाल आएका हुन् ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा काञ्ची कामकोटी मठका जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए । शंकराचार्य परम्परामा यो मठलाई पाँचौँ मठ पनि भनिन्छ ।

यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस