वाम एकता

एमाले-माओवादी एकता जेठ १५ भित्रै

बुधबार, ०२ जेठ २०७५, १८ : ४२
एमाले-माओवादी एकता जेठ १५ भित्रै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताका विषयमा छलफल गर्न बुधबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले  जेठ १५ अघि नै पार्टी एकता गर्ने निर्णय गरेको छ ।

बिहीबार बस्ने संयोजन समितिको बैठकले एकताको मिति टुंगो लगाउने निर्णय गरेको हो ।  ‘एकता संयोजन समितिले जे निर्णय गर्छ, एमालेले त्यसलाई नै मान्नेछौं,’ बैठक सकिएलगत्तै बाहिरिने क्रममा एमाले सचिव तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘भोली एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गर्छ ।’

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए ।

बुधबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा लामो 'वान टु वान' वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो । दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस