मापसे गरेर सवारी चलाउनेहरु चितवनमा आधा कम

बुधबार, ०२ जेठ २०७५, १४ : ४४
मापसे गरेर सवारी चलाउनेहरु चितवनमा आधा कम

चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष वैशाखमा मापसे गरेर सवारी चलाउनेहरु आधा कम भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म ३४ हजार ६ सय ५० सवारी कारबाहीमा परेका छन् । जसमध्ये ६ सय ६९ सवारी मापसे कारबाहीमा परेका छन् । कुल कारबाहीबाट २ करोड ५७ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७३/७४ को वैशाखसम्म ३५ हजार ७ सय ५० सवारी कारबाहीमा परेका थिए । जसमध्ये १ हजार २ सय ७६ मापसे कारबाहीमा परेका थिए । यो अवधिमा कुल कारबाहीबाट २ करोड ७० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएकोे जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ  ।
चालु आर्थिक वर्षको वैशाख महिनामा ४ हजार ५ सय ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जस अन्तर्गत ७८ वटा सवारी मापसे कारबाहीमा परेका छन् । कुल कारबाहीबाट ३२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्षको वैशाख महिनामा तीन हजार पाँच सय ५० सवारी कारबाहीमा परेका थिए । जसअन्तर्गत ९० सवारी साधन मापसे कारबाहीमा परेका थिए । कुल कारबाहीबाट २५ लाख ८६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
बढे सवारी दुर्घटना
चालु आर्थिक वर्षको वैशाख महिनामा २८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । गत आर्थिक वर्षको वैशाख महिनामा २३ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
जिल्ला ट्राफिक कार्यालयले दिएको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को वैशाख महिनासम्ममा कुल २ सय २३ सवारी दुर्घटना हुँदा १ सय ६ जनाको मृत्यु भएको छ भने ४ सय ४५ जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०७३/७४ को वैशाखसम्ममा कुल २ सय ५ सवारी दुर्घटना हुँदा १ सय ४२ जनाको मृत्यु भएको थियो भने ४ सय ८५ जना घाइते भएका थिए । गतवर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको र मापसे गरेर सवारी चलाउनेको संख्या आधाले घटेको देखिन्छ । राजस्व संकलनमा भने वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस