चितवन । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा सुरु भएको छ ।
प्रतियोगिताको बिहिबार उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले प्रतियोगितालाई विश्वविद्यालयले नियमित वार्षिक कार्यक्रममा समावेश गर्ने बताए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना भएको बताउँदै उनले आगामी दिनमा अन्य खेलकुदसँगै छात्राहरु बीच पनि फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विद्यार्थीका लागि अध्ययनसँगै सामाजिक विकास र शारीरिक विकासका लागि खेलकुद पनि जरुरी रहेको बताईन् । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए । प्रतियोगितामा विश्वविद्यालयको कृषि संकायको २, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको १, वन विज्ञान संकायको १ टिमको सहभागिता रहेको छ । यस्तै, विश्वविद्यालयको पुरुञ्चौर, पाख्रिबास, बर्दिबास, कटारी, मरिण, टिकापर, रोल्पा, खजुरा र दुल्लुमा रहेको आंगिक कलेज प्रत्येकबाट १ टिम, भ्यालि कृषि क्याम्पस ललितपु, सिद्धान्त कलेज गैंडाकोट र ब्राईट मध्य पश्चिम कृषि कलेज सुर्खेतको टीम सहभागी छन् ।
बिहिबार भएको उद्घाटन खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले कृषि संकाय बी लाई ६–१ को गोल अन्तरले हराएको छ । खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका लागि सौरभ गेलालले २ गोल गरेका थिए । निशान दाहाल, दिपेश गुरुङ, सुदिप श्रेष्ठले १÷१ गोल गरेका थिए । कृषि संकायको तर्फमा आत्मघाती १ गोल भएको थियो । कृषि संकायका लागि १ मात्र गोल दिलिप घिमिरेले गरे । खेलमा म्यान अफ दि म्याच सौरभ गेलाल भए । प्रतियोगिताका विजयी टीमले ५० हजार, द्वितीयले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन् । म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए । प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा शुक्रबार चार खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १७ : ५९
लेखकबाट थप