तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, ११ : ४४
तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई

काठमाडौं  । कोभिड १९ को महामारीपछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठूलो अन्तरउच्च माध्यमिक फुटसल प्रतियोगिता सम्पन्न भएकोललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले जितेको हो।

ओरियन्टले आयोजक डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै २ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ। उपविजेता आयोजक टिम डीएभी रेडले एक लाख नगद पुरस्कारमा चित्त बुझाएको छ।विजेता तथा उपविजेतालाई विद्यालयका अध्यक्ष अनिल केडिया तथा एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा आयोजक डिएभी रेडका सुमित थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृष्ट गोलकिपर ओरियन्टका सरोज पाण्डे घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार दिवस विष्ट (डीएभी रेड), विजय पौडेल (समृद्धि उमावि) तथा सुनिल थिङ (इन्साइट भिजन उमावि) ले संयुक्त रूपमा बाँडेका थिए।

यसअघि पहिलो संस्करणको विजेता मोलिस उच्च माध्यमिक विद्यालयले एक लाख तथा उपविजेताले पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए। दोस्रो संस्करणमा विजेता समृद्धि उच्च माध्यमिक विद्यालयले नगद एक लाख पचास हजार तथा उपविजेताले पचहत्तर हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।यसपटकको प्रतियोगितामा पुरस्कार राशिसमेत वृद्धि गरिएको थियो। आयोजकतर्फका दुई टिम गरी प्रतियोगितामा उपत्यकाका २६ उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस