काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्वस्टार रोनाल्डिन्होले किलियन एम्बाप्पेलाई यो क्लबमै रहन र लियोनल मेस्सी र नेयमारसँग साझेदारी कायम राख्न सुझाव दिएका छन्।
फ्रान्सका स्ट्राइकर एमबाप्पे र पिएजीबिचको सम्झौता यही जुनको अन्त्यसम्म छ । जसको कारण एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहँदा स्पेनिस क्लब बार्सिलोनाले पनि एमबाप्पेमाथि चासो देखाइरहेको छ ।केही महिनाअघि पिएसजीका खेलकुद निर्देशक लियोनार्दाेले २३ वर्षका एम्बाप्पेसँग नयाँ सम्झौता गर्न सक्नेजति सबै कुरा गर्ने बताएका थिए ।
लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीका लागि एमबाप्पेले यो सिजन २६ गोल गरेका छन् । जुन मेसीको भन्दा १९ गोल धेरै हो ।मेस्सी गत अगस्टमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।
‘मेरो विचारमा एम्बाप्पे पिएसजीमा नै बस्नेछन् । तर, फुटबलमा धेरै कुराहरु छिट्टै भइरहेका हुन्छन् । यी तीन खेलाडीले एकसाथ केही गर्न सक्छन्’, रोनाल्डिन्होले भने, ‘मैले कसैलाई सुझाव दिने गरेको छैन । तर, म मेरा साथीहरू खुसी भएको हेर्न चाहन्छु । यी तीन स्टारसँगै हुनु फुटबल समर्थकको लागि राम्रो कुरा हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १३ : ३९
लेखकबाट थप