चितवनमा जिल्लास्तरीय खेलाडी धमाधम छनौट हुँदै

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : ००
चितवनमा जिल्लास्तरीय खेलाडी धमाधम छनौट हुँदै

चितवन । वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौटको काम तीब्र गतिमा भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालकाअनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनौट सकिएको छ । 

विभिन्न आठ विधामा हुने जिल्ला स्तरीय छनौट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक÷एक विधामा खेलाडी सहभागी गराएनन् भने रत्ननगर नगरपालिकाले पाँच वटा विधाको खेलकुदमा खेलाडी सहभागी नगराएको ढकालले बताए। स्थानीय पालिकाले खेलाडी छनौट नगरेका कारण कारण जिल्ला स्तरीय प्रतियोगितामा पालिकाहरुले केही खेलमा खेलाडी सहभागी गराउन सकेनन् । माडीले ब्याडमिन्टन, इच्छाकामनाले क्रिकेट तथा रत्ननगर नगरपालिकाले एथलेटिक्स, भलिबल, बक्सिङ, कराँते र फुटबल खेलमा खेलाडी सहभागी गराएनन् । 

कार्यालय प्रमुख ढकालकाअनुसार जिल्ला स्तरीय प्रतियोगिताबाट ब्याडमिन्टनका महिला ६ र पुरुष ६, एथलेटिक्सका महिला १२ र पुरुष १२, बक्सिङका महिला आठ र पुरुष १३ तथा भलिबलका महिला १२ र पुरुष १२ खेलाडी छनौट भइसकेका ढकालले जानकारी दिए । जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत बुधबार र बिहीबार फुटबल, बिहीबार तेक्वान्दो र कराँत तथा शुक्रबार र शनिबार क्रिकेट खेलको जिल्लास्तरीय खेलाडी छनौट गरिने ढकालले बताउनुभयो । कराँतेका महिला १० र पुरुष १०, फुटबलका महिला १८ र पुरुष १८ तेक्वान्दोका महिला १३ र पुरुष १३ तथा क्रिकेटका महिला १४ र पुरुष १४ जना खेलाडी छनौट गरेर प्रदेश प्रतियोगितामा सहभागी हुन पठाइने कार्यालय प्रमुख ढकालले बताए । 

जिल्लाबाट छनौट भएका सबै खेलाडीहरुले यही फागुन २८ देखि चैत ५ गतेसम्म हुने वाग्मती प्रदेश स्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्ने छन् । हेटौँडामा उद्घाटन हुने वाग्मती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको समापन चितवनको माडीमा हुने वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुले जानकारी दिए । चितवनमा प्रदेश स्तरीय खेलकुदका भलिबल सहित अन्य दुई खेल हुने गुरुङले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस