काठमाडौं । ललितपुर मेयर महिला टि२० च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हात पारेको छ । सुदूरपश्चिमले शनिबारको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराएको हो ।
यो जितसँगै सुदूरपश्चिमले साविक विजेता एपिएफसँग उपाधि भिडन्त पक्का गरेको छ ।
१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।लुम्बिनीका लागि नेरी थापाले २३, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधारीले १० रनको योगदान दिँदा मधु डिसी आठ र नितु भण्डारी सात रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि कविता कुँवर र सम्झना खड्काले दुई(दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक ४२ रन को योगदान दिइन् । ४८ बलको सामना गरेकी उनले पाँच चौका प्रहार गरिन् ।
कप्तान ऋतु कनौजियाले ३३ र कविता जोशीले ३२ रन बनाउँदा कविता कुँवर १० रनमा अविजित रहिन् ।लुम्बिनीका लागि नेरी थापाले तीन तथा कृतिका मरासिनी र मधु डिसीले एक(एक विकेट हात पारे ।यो जितसँगै सुदूरपश्चिमले चार खेलमा ६ अंक जोड्दा एक खेल अगावै बाहिरिएको लुम्बिनीको तीन खेलबाट दुई अंक छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ फागुन २०७८, १२ : ४१
लेखकबाट थप