एकसाता अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा सुचारु

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १३ : ४६
एकसाता अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा सुचारु

नवलपुर । नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो ।

पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो । सोमबारदेखि पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी हिजो साँझबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनएको छ ।

बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भए पनि हिलो र दलदलका कारण सवारी वारपार गर्न सकेका थिएनन् । सोमबारबाट एकतर्फीरुपमा सञ्चालनमा आएको डाइभर्सन हिजो साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

गैंडाकोटका अन्य डाइभर्सन भने यसअघि नै मर्मत गरिएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालन भएसँगै रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ छुट्न थालेका छन् ।

राजमार्ग पूर्णरुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवैतर्फ गरी करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो । डाइभर्सनमा दुईतर्फी सवारी सञ्चालनमा आएसँग उक्त सवारीको लाइन अहिले घट्दै गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस