भारतको कोभिड अस्पतालमा आगलागी हुँदा ८ कोरोना संक्रमितको मृत्यु

एजेन्सी

विहीबार, २२ साउन २०७७, १२ : ३८
भारतको कोभिड अस्पतालमा आगलागी हुँदा ८ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ । यीमध्ये पाँच पुरुष र ३ महिला हुन् ।

एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ ।

भारतीय सञ्चार मिडिया दैनिक भास्करलाई प्रहरीले दिएको जानकारी अनुसार श्रेय अस्पतालमा बिहिबार सबेरै साढे तीन बजे आइसीयूबाठ आगलागी सुरु भएको हो । त्यसपछि आगो दोस्रो वार्डमा फैलियो । आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ । यहाँ कोभिडका बिरामीका लागि ५० वटा बेड छ । दुर्घटनाका बेला ४० देखि ४५ बिरामी भर्ना थिए ।

मोदीले दुर्घटनामा ज्यान गुमाउने परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख भारु दिने घोषणा गरेका छन् । यसबाहेक दुर्घटनामा घाइते भएकाहरुलाई पचार हजार सहयोग गरिनेछ । उता मुख्यमन्त्री रुपाणीले उक्त घटनाको अनुसन्धानका लागि आदेश दिएका छन् । यो अनुसन्धानको नेतृत्व एडिशनल चीफ सेक्रेटरी संगीता सिंहले गर्नेछिन् । मुख्यमन्त्रीले तीन दिनमा रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।