काठमाडाैँ । गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण गरियो । भारतबाट नेपाल प्रवेश गरेको २१ जनामध्ये १८ जना कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएको छ । हाल उनीहरू गोठगाउँमा आइसोलेसनमा छन् ।
नेपाल र भारतमा दैनिक रुपमा करिब एक हजार व्यक्ति सीमा ओहोरदोहोर गर्दैआएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयको तथ्याङ्कबमोजिम बिहीबार मात्रै ५०६ जना नेपालबाट भारत गएको र ६५९ जना भारतबाट नेपाल प्रवेश गरेको जनाएको छ । भारतसँग जोडिएको चार राज्य उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डमा दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन खुकुलो भएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दैआएको छ । मन्त्रालयले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्देशिकासमेत जारी गरेको छ तर बढ्दो सङ्क्रमणबीच मास्क नलगाएका करिब दुई लाख व्यक्तिलाई कारबाही गरिएको छ ।
वीरगञ्जमा पछिल्लो समय २८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार वीरगञ्जमा आठ चिकित्सक, छ नर्सिङ्ग स्टाफ र १२ पारामेडिक्ससहित २८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार आवश्यक सतर्कता नअपनाउँदा स्वास्थ्यकर्मीसमेत ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पुगेका छन् ।
यी चारवटै प्रतिनिधिमूलक घटना मात्रै हुन् । साउन लागेपछि करिब तीन प्रतिशत रहेको सङ्क्रमणदर हाल करिब चार प्रतिशत पुगेको छ । कुलमा सङ्क्रमण दर ५.३ प्रतिशत पुगेको हो । स्वास्थ्य विज्ञको सुझाव तथा मन्त्रालयले सतर्कता अपनाउन जारी गरेको निर्देशिका गिज्याउन यी घटनाहरू पर्याप्त छन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, “लकडाउन खुकुलोलाई सर्वसाधारणले सतर्कता खुकुलोको रुपमा बुझेका छन् र सामाजिक दूरीको पालना, मास्क लगाउने र नियमित हात धुने बानीमा समेत ढिलाइ गरेका छन्, नतिजा आउन थालेका छन् ।” गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ साउन २०७७, ०७ : ३३
लेखकबाट थप