संक्रमित धेरै, सार्वजनिक थोरै

पत्रपत्रिकाबाट

शुक्रबार, १६ साउन २०७७, ०७ : १४
संक्रमित धेरै, सार्वजनिक थोरै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा ४८ जना संक्रमित देखिएको विवरण सार्वजनिक गर्‍यो । तर, उपत्यकामा पीसीआर गरेर संक्रमित देखिएको संख्या भने ७० जना छन् ।

बुधबार पनि मन्त्रालयले १५ जना संक्रमित रहेको प्रेस ब्रिफिङमा जानकारी दिएको थियो । तर वास्तविक संक्रमित २० जना थिए । मंगलबार पनि काठमाडौं उपत्यकामा ५३ जना संक्रमित भएको भन्दै विवरण सार्वजनिक गरिएको थियो । तर, वास्तविक संक्रमित भने ६१ जना थिए । मन्त्रालयले सार्वजनिक गर्ने उपत्यकामा संक्रमित भनिएको तथ्यांकभन्दा बढी संक्रमित हुने गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

‘हामीले सार्वजनिक गर्ने विवरण उपत्यकाबाहिरबाट आएलगत्तै काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखियो भने जुन ठाउँबाट आएको हो, त्यही जिल्लाको तथ्यांकमा समावेश गर्छौं,’ अधिकारीले भने, ‘ट्राभल हिस्ट्री नभएका र उपत्यकाबाहिर स्थायी ठेगाना भए पनि विगतदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्ने व्यक्तिलाई कोरोना पोजिटिभ देखियो भने मात्र उपत्यकामा संक्रमितको तथ्यांकमा समावेश गर्छौं ।’

उपत्यकामा दुई सातायता देखिएका संक्रमितमध्ये सबैजसो उपत्यकाबाहिर जिल्ला र भारतबाट फर्किने रहेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए । ‘कोही गाडी रिजर्भ गरेर आउने, केही आफन्तसँग त केही निर्बाध रूपमा चलेको भाडाका गाडीमा आइरहेका छन्,’ उनले भने, ‘काठमाडौं आएपछि स्वाब दिँदा कोरोना पोजिटिभ देखिएको हो । नाकामा कडाइ नगर्ने हो भने उपत्यकामा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस