केन्द्रीय कमिटी बैठक माग माग गर्दै प्रचण्ड र माधव समूह

पत्रपत्रिकाबाट

विहीबार, १५ साउन २०७७, ०८ : ०४
केन्द्रीय कमिटी बैठक माग माग गर्दै प्रचण्ड र माधव समूह

काठमाडौं । सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा पत्र बुझाएका छन् । पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् ।

पार्टीमा उठेका विषयलाई सचिवालय र स्थायी कमिटीले पार लगाउन नसकेको भन्दै उनीहरूले केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले पार्टी एकता नै भत्किने गरी समस्या बढेकाले त्यसलाई जोगाउनका लागि केन्द्रीय कमिटी बैठक आवश्यक परेको उल्लेख गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ, हाल देखिएका सबै विवाद र समस्याको समाधान पार्टी बैठकमा गहन छलफल गरी विधि–पद्धतिबमोजिम समाधान गरिनुपर्छ भन्ने हाम्रो ठहर छ,’ अध्यक्षद्वयलाई सम्बोधन गर्दै पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा उल्लेख छ, ‘यसर्थ पार्टी विधानको धारा ५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय कमिटी बैठक बोलाइयोस् ।’

पार्टीको अन्तरिम विधानको धारा ५९ (क) ४ मा एक चौथाइ केन्द्रीय सदस्यले औपचारिक रूपमा माग गरेमा ३० दिनभित्र बैठक आयोजना गर्नुपर्ने प्रावधान छ । हाल नेकपामा ४ सय ४४ केन्द्रीय सदस्य छन् । एक चौथाइका लागि १ सय ११ केन्द्रीय सदस्य चाहिन्छ । पार्टी कार्यालय धुम्बाराहीमा पत्र दर्ता गराउन झन्डै ४० जना केन्द्रीय सदस्य पुगेका थिए । त्यसपछि पार्टीमा बुझाएको आधिकारिक पत्रको प्रतिलिपि बोकेर झन्डै १० जना केन्द्रीय सदस्य अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

अध्यक्ष दाहाललाई उनीहरूले विधानको व्यवस्थाअनुसार केन्द्रीय कमिटी बैठक बोलाउन ध्यानाकर्षण गराएका छन् । केन्द्रीय सदस्यहरूले अब सचिवालय र स्थायी कमिटीबाट समस्या समाधान नहुने भएकाले केन्द्रीय बैठक आवश्यक रहेको धारणा राखेपछि अध्यक्ष दाहालले उनीहरूको प्रयासलाई सही भन्दै ढाडस दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस