लकडाउन खुलेपछि जोखिम उच्च

पत्रपत्रिकाबाट

बुधबार, १४ साउन २०७७, ०७ : ००
लकडाउन खुलेपछि जोखिम उच्च

फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या फेरि हवात्तै बढेको छ। लकडाउन खुला भएको एक साताभित्रै मंगलबार उपत्यकामा मात्रै ५३ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।

मंगलबार २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिए। संक्रमित प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका छन्। कडायतले भने, ‘केही प्रहरीलाई सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो। त्यहीं बेला प्रत्यक्ष एवं अप्रत्यक्ष सम्पर्कमा आएका अन्यलाई पनि सरेको हुन सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौका ११ र भक्तपुरका एक जनामा संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका नौ जना, ललितपुरका एक जना छन्। त्यस्तै पाटन अस्पतालमा ललितपुरका एक जना छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंका एक जना छन्। ललितपुरको सानेपास्थित निजी स्टार अस्पताल काठमाडौंका ६ जना र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यका भित्रिने तीनवटा नाकाबाट कोभिड १९को स्याम्पलिङ्गका लागि नमूना संकलन भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंको फर्पिङ नाकाबाट नौ सय ५५ र नागढुंगाबाट दुई हजार नौ सय १४ र काभ्रेको साँगाबाट नौ सय ४४ सहित चार हजार आठ सय १३ पीसीआरको नमूना संकलन गरिएको छ। लकडाउन खुकुलो हुनु अघि गत असार ३१ देखि साउन ६ गतेसम्म ३० हजार ९६ जनाको पीसीआर जाँच गरिएको थियो। जसमध्ये नौ सय ३३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। साउन ७ गतेदेखि १३ गतेसम्म जम्मा २८ हजार ७२ नमुना परीक्षण भएकोमा एक हजार ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। लकडाउन खुलेसँगै जनजीवनमा परिवर्तन आएकोले संक्रमण बढेको डा. गौतमले बताए। ‘लकडाउन खुले पनि जोखिम यथावत नै छ। कोरोनाको जोखिम रहेसम्म आनीबानीमा सावधानी अपनाउनु पर्छ’, उनले भने। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस