भारतबाट आएकाहरुबाट काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो

पत्रपत्रिकाबाट

सोमबार, १२ साउन २०७७, ०८ : १७
भारतबाट आएकाहरुबाट काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो

काठमाडौं । भारतको बिहारबाट आएका एकै परिवारका पाँचजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रराज परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार भारतबाट आएकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको थियो । 

कन्ट्याक्ट टे«सिङ गर्ने क्रममा शुक्रबार परिवारका अरु सदस्यको परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो। परिवारका दम्पती, छोरा–छोरी र नातिनीमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए। अस्पतालका अनुसार उनीहरु काठमाडौंको महाबौद्ध क्षेत्रमा बसोवास गर्दै आएका छन् ।  

उनीहरु महाबौद्धमै पसल गर्नेहरु रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले बताए। उनीहरुको सम्पर्कमा पुगेका अन्य व्यक्ति खोज्ने काम भइरहेको अधिकारीले जानकारी दिए।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन् । 

लकडाउन खुकुलो भएपछि उनीहरु विभिन्न माध्यमबाट काठमाडौं भित्रिएका हुन्। सरकारले संक्रमितको संख्या घटेपछि लकडाउन खोलेको थियो। नेपालमा संक्रमणदर घटेपनि भारतमा बढिरहेकाले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्। नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस