जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए ।
यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको हो । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ ।
जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकी रत्न पुरीले बताए ।
गुणस्तरीय स्वास्थ्य सेवा, दक्षजनशक्ति र आधुनिक उपकरणका अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्यचौकीमा २०७५ देखि अहिलेसम्म ९९२ सुत्केरीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आज नलगाड नगरपालिका–५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । सुत्केरी हुने मिति साउन २१ गते भए पनि गए राति घरमा लडेका कारण पेट दुखेपछि उनमा समस्या आएको थियो ।
समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पु¥याइए पनि शिशुको पेटमै मृत्यु भइसकेका कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । राष्ट्रपति उद्धार कोषमार्फत उनलाई उद्धार गरिएको थियो ।
बुधबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे–गाउँपालिका– २ का नैने दमाईँलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमाईको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ साउन २०७७, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता
कश्मिरमा डुंगा पल्टिँदा चार जनाको मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
पर्यटकलाई घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु