लगातारको वर्षाले प्रदेश २ जताततै जलमग्न, पशुवस्तुको बिजोग

रासस

मंगलबार, ०६ साउन २०७७, ११ : १६
लगातारको वर्षाले प्रदेश २ जताततै जलमग्न, पशुवस्तुको बिजोग

फाइल फोटो

महोत्तरी । असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन् ।

असार अन्तिम साता परेको पानी सुक्न नपाउँदै आइतबारदेखि फेरि पर्न थालेको मुसलधारे पानीले महोत्तरीका मध्य र दक्षिणी क्षेत्रका गाउँ÷नगर बस्ती जलमग्न छन् । धानको रोपो नदेखिने गरी पानीले गह्रा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्मे छन् । आइतबार बिहानदेखि पर्न थालेको पानी नरोकिँदा सबभन्दा बढी सकस पशुवस्तु चरनमा परेको छ । चरनक्षेत्र पानीले डुबेको र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईवस्तु गोठमा कराइरहेका सुनेर बस्नुपरेको पशुपालक किसान भङ्गाहा नगरपालिका–४ का कृष्ण दाहालले बताए ।

‘असार अन्तिम साताको पानी चरन क्षेत्रमा नसुक्दै फेरि मुसलधारे वर्षा भएको छ’, दाहालले गोठका भैँसीतिर देखाउँदै भन्नुभयो, ‘तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।’ झरीमा आपूm खोलेफाँडो खाएर गुजारा काटे पनि पशुवस्तुको बिजोगले मन कुँड्याएको उनको भनाई छ । लगातारको झरीले लहरे तरकारी बालीका बेला पहेँलिने, चुँडिने र गल्ने गरेका छन् । लागेका फल पनि नहुर्कँदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताए ।

तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ । थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला (लहरा) र चिचिला पहेँलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीमा बाढी उर्लेको छ । यद्यपि खतराको तहसम्म नपुगेको हुँदा बाढीबाट भने अहिले ठूलो क्षति नभएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको भनाइ छ ।

‘असार निगल्दोको वर्षासँगैको बाढीले केही सडक र बाँध ठाउँठाउँमा भत्काएको थियो, तिनको मर्मत गरिएको छ’, कटुवालले भने, ‘वर्षा बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति गर्नसक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ ।’ नदी तटका बस्तीमा सूचना प्रवाह र पूर्वसतर्कताका लागि सुरक्षाकर्मी परिचालित गरिएको कटुवालको भनाइ छ ।

असार निगल्दोको वर्षादेखि नै यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर, सम्सी–मनरा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) चल्न नसक्ने भएका छन् । हिलाम्मे सडकले पैदलयात्रा पनि यहाँ सकसपूर्ण बनेको छ । यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोबस्त भए पनि ती कम्पनी कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ । ‘काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् ?’ जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबुप्रेम यदुवंशीले भने, ‘ठेक्का बन्दोबस्त भएको वर्ष नाघ्दा पनि काम फिट्टो सरेको छैन ।’

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले आपूm भर्खरै जिल्लाको जिम्मेवारीमा आएको हुँदा यहाँका कामबारे विभिन्न सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । ‘सम्बद्ध सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छु’, कटुवालले भने, ‘मौसम अनुकूल हुनासाथ काम बढ्छ ।’