दोधारमा किन पर्दैछन् प्रचण्ड

पत्रपत्रिकाबाट

सोमबार, ०५ साउन २०७७, ०८ : १७
दोधारमा किन पर्दैछन् प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने प्रस्ताव ल्याए । झन्डै एक महिनादेखि ओलीको निःसर्त राजीनामा हुनुपर्ने अडान राख्दै आएका अध्यक्ष पुष्पकमल दाहालले त्यसलाई ठाडै अस्वीकार गर्लान् भन्ने माधव नेपाललगायतका असन्तुष्ट नेताहरूको अनुमान थियो । तर जसै ओलीले महाधिवेशनको प्रस्ताव गरे, दाहालले समर्थन गरिदिए ।

शनिबार बालुवाटारमा ओलीलाई समर्थन गरेर निस्केका दाहाल साँझ शीतल निवासबाट खुमलटार पुगिसक्दा केही बदलिए । आइतबार बिहानसम्म त उनको पोजिसन पूरै उल्टियो । उनले नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूसँग ‘केपी ओलीसँग आफूले कुनै सहमति नगरेको’ भन्दै शनिबारको सचिवालय बैठकमा आफूले प्रदर्शन गरेको भूमिकाको स्पष्टीकरण दिए । शनिबार ओलीसँग नजिक देखिएका दाहालले आइतबारसम्म आइपुग्दा नेपाललगायतको समूहमै रहेको बताएपछि उनी दोधारे मनोविज्ञानमा रहेको देखिएको छ ।

ठीक यस्तै दृश्य यसअघि वैशाख तेस्रो साता देखिएको थियो । प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज हुने अध्यादेश ल्याएपछि चर्किएको नेकपाको विवादमा दाहालले वरिष्ठ नेता नेपाललगायतसँग मिलेर ओलीको आलोचना गरिरहेका थिए । त्यो बेलाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सबै नेताहरू मिलेर जाऔं, आत्मालोचना गरौं भनेका थिए । कारण प्रस्ट थिएन, दाहालले त्यसबेला पनि अन्तिम घडीमा ओलीकै पक्ष लिए । अनि नेता नेपालले भनेका थिए, ‘दुई नेताको मात्र चोचोमोचो मिलाएर हुँदैन ।’

वैशाख २० गतेको जस्तै दृश्य शनिबार पनि देखिएपछि नेता नेपालले पुरानै कुरा दोहोर्‍याए, ‘दुई अध्यक्षको चोचोमोचो मिलाएर हुँदैन । पार्टी विधि–पद्धतिअनुसार चलाउनु मुख्य कुरा हो ।’नेकपाभित्र अहिले ओली, दाहाल र नेपालका गरी त्रि–शक्ति केन्द्र हावी छन् । यीमध्ये दुई नेता जता हुन्छन्, पार्टीको मूल समीकरण त्यतै ढल्कन्छ । त्यसैले अन्य दुई समूहसँग कहिले यता र कहिले उता गर्नेमा सबभन्दा अगाडि दाहाल देखिन्छन् ।

उनी कहिले ओलीसँग मिल्छन् त कहिले नेपालसँग । यस पटक पनि उनले त्यस्तै व्यवहार प्रदर्शन गरे । आइतबार खुमलटारमा भेला भएका नेताहरूले त्यसैको आलोचना गरेका थिए । आफूलाई साथ दिने नेताहरूले समेत शंकाको दृष्टिले हेरेपछि दाहालले आइतबार बिहान भेट्न आउने सबैलाई स्पष्टीकरण दिँदै ओलीसँग कुनै सहमति नभएको दाबी गर्नुपर्‍यो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस