एक लाख नजिक पुग्यो सुनको मूल्य

सोमबार, १५ असार २०७७, ०८ : ४४
एक लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । बिहेको सिजन सकिँदै गर्दा स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । विश्वभर फैलिएको कोरानाभाइरस ९कोभिड–१९०ले गर्दा सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न गएको हो ।

 पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । लकडाउनअघि प्रतितोला ७७ हजार रुपैया रहेको सुनको मूल्य आइतबार बढेर तोलामा ९१ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको कारणले गर्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले कोरोनाभाइरसको कारणले सुनको मूल्य बढ्न गएको बताए । कारोबार दैनिकमा खबर छ ।