काठमाडौँ । नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।
नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ । ”
पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उहाँले बताउनुभयो तर वर्षाको समयको झरी जस्तो लगातार बर्सिरहने गुण भने यसमा नरहने उहाँले प्रस्ट्याउनुभयो । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने गर्छ ।
“हाल देखिएको मौसम प्रणालीले विस्तारै प्रिमनसुनलाई मनसुनतिर धकेलिँदै लगेको देखाउँछ । विभिन्न वायु सक्रिय बनेर पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा यो प्रणाली विकसित भएको हो,” मौसमविद् मानन्धरले सुनाउनुभयो । सिजन परिवर्तन हुँदै गर्दा र मनसुनको वातावरण बन्ने क्रममा धेरै किसिमका वायु नेपाल भित्रने गर्छ । जुन वायुले अन्य वायुलाई विस्थापित गर्न सक्छ, त्यो रहन्छ । अन्य वायु कमजोर बन्छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले भनेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ बैशाख २०७७, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो
चितवनसहित काठमाडौंमा भिषण हावाहुरी
अष्ट्रेलियामा भारी वर्षा, सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द
सर्लाहीको चुरेमाईमा सबैभन्दा बढी वर्षा, शुक्रबारदेखि मौसम खुल्दै जाने
मध्य पुस भइसक्दा किन हुन सकेन वर्षा ?