भारतमा रहेका नेपालीको उद्दार सम्भव छैन : प्रधानमन्त्री

आइतबार, २१ बैशाख २०७७, १५ : ३४
भारतमा रहेका नेपालीको उद्दार सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीको तत्काल उद्दार सम्भव नभएको बताएका छन् ।भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई उद्दारको विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपालीको उद्दार तत्काल गर्न नसकिने बताएका हुन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरे ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।

सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।