नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

मंगलबार, २७ फागुन २०७६, १४ : १०
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

काठमाडौँ  ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । 

    शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो । 

    पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
    
    नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो । 

    नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस