अब बैंकमा सुन राख्दा ब्याज पाइने

पत्रपत्रिकाबाट

शुक्रबार, २३ फागुन २०७६, ०६ : ५७
अब बैंकमा सुन राख्दा ब्याज पाइने

फाईल फोटो

काठमाडौं । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बैंकहरूले गरगहना भने निक्षेपका रूपमा लिन पाउँदैनन् । यसका लागि ढिक्का सुुन हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार सुनचाँदीको गरगहना निक्षेप लिँदा त्यसको शुद्धता नाप्न गाह्रो हुने र त्यसमा प्रयोग भएका रसायनको मूल्यांकन गर्न जटिल हुने भएकाले काँचो ढिक्का सुन मात्रै निक्षेपका रूपमा लिने व्यवस्था गरिएको हो ।