मकवानपुरमा ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

मंगलबार, २० फागुन २०७६, १६ : ३३
मकवानपुरमा ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुरमा ६ किलो सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकललाई ६ किलो सुनसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठौरले काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रु बस चेकजाँचको क्रममा ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ गरेको जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा मजिदको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा मजिदले बोकेको कालो झोला चेक गर्दा त्यसमा गाडीका पाटपूर्जा फेला परेका थिए । झोलामा भेटिएका पाटपूर्जाहरु स्वभाविकभन्दा बढी तौलका पाइएपछि प्रहरीले बरामद गरेर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा ८ वटा सुनका ढिक्काहरु फेला परेका थिए । प्रहरीले मजिदको साथबाट बरामद भएको सूनको बजार मूल्य ४ करोड २७ लाख ७ सय ७४ रुपैयाँ रहेको जनाएको छ । प्रहरीले पक्राउ परेका मजिदलाई सुनसहित थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।