‘हाम्रा ऐन कानूनहरुलाई कसरी मध्यम वर्ग र तल्लो वर्गको हितमा लैजाने सोंच्नुपर्छ’ : नेकपा अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, ०८ : ३४
‘हाम्रा ऐन कानूनहरुलाई कसरी मध्यम वर्ग र तल्लो वर्गको हितमा लैजाने सोंच्नुपर्छ’ : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हाम्रा ऐन कानूनहरुलाई कसरी राष्ट्रिय पूँजीपति, मध्यम वर्ग र तल्लो वर्गको हितमा लैजाने भन्ने कुरामा हामी सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । उहांले कर प्रणाली लागु गर्दा पनि प्रगतिशिल कर प्रणाली लागु गर्ने कुराको सुरुवात कहाँबाट गर्ने भन्नेमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अहिलेको परिवेशमा दलाल, नोकरशाही पुँजीपतिलाई अलि कडाईपूर्वक बाँध्ने नीति नियम बनाउन सकेनौं भने हाम्रा योजनाहरु असफल हुनसक्ने बताउनुभयो ।

‘हामी नेपालको राजनीतिक परिवर्तनको इतिहासमा असाध्यै महत्वपूर्ण र युगान्तकारी अवस्थामा छौं, प्रत्येक राजनीतिक परिवर्तनको औचित्य, त्यसले ल्याउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनमा निर्भर हुन्छ’–उहांले भन्नुभयो–‘यदि राजनीतिक परिवर्तन कोरा मात्रै भयो भने, त्यसले आर्थिक, सांस्कृतिक र जनताको दैनिक जीवनमा सकारात्मक रुपान्तरण ल्याउन सक्दैन् । त्यो राजनीतिक परिवर्तन पनि दिगो हुँदैन् ।’

उहांले त्यस्ता परिवर्तनलाई यथास्थितिले विस्थापित गर्ने खतरा पैदा हुनेभएकाले सचेत हुुनुपर्नेमा जोड दिनुभयो ।  यो विश्व इतिहासमा देखिएको र धेरै पटक प्रमाणित भएको तथ्य हो–उहाँको थप भनाई थियो । नेपालको इतिहासमा पनि २००७ देखि २०६२ र०६३ सालसम्म हामीले पटक–पटक तितो अनुभव र अनुभूति गरेको बताउदैं उहाँले नेपाली समाजले त्यसलाई गहिरो गरि भोगेको तर अहिले विगतको भन्दा गुणात्मक रुपले स्थिति भिन्न रहेको औल्याउनुभयो ‘पहिलाका सबै राजनीतिक परिवर्तन मात्रात्मक प्रकृतिका थिए, यसपटकको राजनीतिक परिवर्तन गुणात्मक प्रकृतिको छ । त्यसकारण जनताको अपेक्षा पनि गुणात्मक ढंगले बढेको छ । त्यो स्वभाविक पनि रहेको धारणा पनि राख्नुभयो ।

उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र संविधान सभाबाट जसरी घोषणा भयो र जस्तो संविधान बन्यो त्यसबाट जनतामा स्वभाविक अपेक्षा बढेको बताउदै उहांले हामीले संविधान सभाको सुरुमा नै समाजवाद उन्मुख राज्यको परिकल्पना गर्यौं, त्यो देशका सबै राजनीतिक दलहरुको मुलभुत सहमतीको बलमा आएको र संविधानमा लेखिएसँगै नेपाली जनताले पनि छिटो–छिटो र सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन् ।

‘हामीले गत निर्वाचन पछि ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई अगाडि बढाएका थियौं । नाराको हिसाबले ‘समृद्ध नेपाल र सुखी नेपाली’ सहि छ तर व्यवहारमा जनताले अनुभुत गर्ने गरि परिवर्तन ल्याउने काममा कति सफलता हाँसिल गर्यौं यो भन्ने विषय चाहिँ गम्भीर आत्मसमिक्षा गर्नुपर्छ’–उहांले भन्नुभयो–‘ पक्कै पनि गएको दुई वर्ष हाम्रो अगाडि धेरै चुनौति र समस्याहरु थिए । संविधानले निर्दिष्ट गरेअनुसारको ऐन, कानून बनाउन समय दिनुपर्ने अनि मेहनेत गर्नुपर्ने आवश्यकता थियो, यो गुणात्मक परिवर्तनलाई संस्थापक गर्ने पहिलो वर्ष भनेको स्वभावैले त्यसखालका कानून संरचना, नीति नियमहरु बनाउनु पर्ने आवश्यक हुन्छ ।’

हाम्रो परिवर्तनलाई छिमेकीहरु र अन्तराष्ट्रिय समुदायलाई राम्रोसँग बुझाउनु पर्नेमा जोड दिदैं उहांले छिमेकीहरुसँग एउटा सन्तुलित सम्बन्ध निर्माणको आवश्यकतासंगै राजनीतिक स्थाथित्वको सकारात्मक वातावरणलाई आर्थिक विकासमा रुपान्तरण गर्न चाहन्छौं भनेर बुझाउनु पर्ने धारणा राख्नुभयो । सरकार र पार्टीको तर्फबाट एउटा परिस्थितिको सामना सँगसँगै गर्नुपर्ने थियो, हामीलाई स्थानीय तहदेखि प्रादेशिक र संघसम्म पनि बलियो उपस्थितिका साथ हाम्रो पार्टी कायम भयो तर सामान्य अवस्थामा प्राप्त गरेको विजयको रुपमा नरहेको औंल्याउनुभयो । 

अहिलेको परिस्थिति एउटा पार्टीले आफ्नो आफ्नो राजनीतिक कार्य्दिशा, रणनीति र कार्यनीतिको आधारमा प्राप्त गरेको विजय होइन् । यो दुईवटा भिन्न धारामा विकास भएका दुईवटा प्रमुख पार्टीहरुको एकता र गठबन्धनको बलमा हाँसिल गरेको जीत हो ।  निर्वाचनमा विजय हाँसिल गरेको झण्डै ६ महिना हामीले पार्टी एकताको लागि खर्चिएको स्मरण गर्दै उहांले एकता घोषणा भएको २०र२१ महिना पछि बल्ल एकताको मुलभूत कुरा पुरा गर्न सक्यौं, एकता प्रक्रियामा ढिलाईको असर स्थानिय, प्रदेश र संघको सरकार सञ्चालनमा परेको छ ।

यदि एउटै पार्टीले दुई तिहाई ल्याएको हुन्थ्यो भने हामीले तुरुन्तै आफ्ना नीति नियम लागु गर्न सक्थ्यौं । तर दुईटा भिन्न धारा र पृष्ठभूमिका साथ अगाडि बढेका पार्टीहरुको एकता प्रक्रिया समयमै नटुंगिदा त्यसले धेरै कुरामा असर गरेको ठम्याउनुभयो ।  ‘भर्खरै सम्पन्न केन्द्रिय समिति बैठकमा सामुहिता र अन्तरघुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको छ, बैठकसँगै हामीले देशव्यापी अभियान, योजना र कार्यक्रम पनि बनाएका छौं र त्यसअनुसार अगाडि जाने हामी अन्तिम तयारीमा पनि छौं ’–भन्दै अध्यक्ष प्रचण्डले हामीलाई यसबीचमा जनताको तहबाट भएका थुप्रै गुनासोहरु र अप्ठ्यारोहरु पनि निराकरण गर्नुछ ।

नेपालको राजनीतिमा कुनै पार्टी विशेषलाई विजय बनाउने अनि पराजीत बनाउने मुख्य हात मध्यम वर्गीय जनताको रहेको धारणा राख्दै उहांले मध्यम वर्ग र निम्नमध्यम वर्ग कतापट्टि ढल्किन्छ त्यै पार्टीले विजय हाँसील गर्छ । मध्यम वर्गले जसलाई ‘विन ओभर’ गर्न सक्छ त्यसैले विजय प्राप्त गर्छ र तिनिहरु सरकारको नेतृत्व गर्ने जिम्मेवारीमा पुग्ने उहाँको तर्क थियो । ‘यो पटक हामीलाई अत्याधिक मत प्राप्त हुनुको एउटै कारण मध्यम वर्गले गरेको भरोसा हो । हाम्रो पार्टी नै श्रमजीवि वर्गबाट आएको हुनाले श्रमजीवि वर्गले हामीलाई भरोसा गर्ने कुरा स्वभाविक भएपनि मध्यम वर्गको विषय भने निश्चित नरहेको दाबी थियो ।

 

प्रतिक्रिया दिनुहोस