कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्ध बन्छ : वरिष्ठ नेता पौडेल

रासस

विहीबार, २४ पुस २०७६, १९ : १८
कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्ध बन्छ : वरिष्ठ नेता पौडेल

फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध हुनसक्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । यद्यपि वरिष्ठ नेता पौडेलले सरकारले विकासको प्राथमिकता पहिचान गर्न नसकेको बताउनुभयो । “सरकार अलमलिएको जस्तो देखिएको छ, विकासको प्राथमिकता पहिचान गर्न सरकारले सकिरहेको छैन,” उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले वर्तमान सरकारको नारा ‘समृद्ध नेपाली, सुखी नेपाली’ नपालकै भएकाले यसतर्फ विचार गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसले शुरु गरेको विकास निर्माणका काममा वर्तमान सरकारले बजेट कटौती गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाउनुभयो । “काँग्रेसले शुरु गरेको विकासका काम अहिले अलपत्र परेको छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले उद्योगी व्यवसायीको संरक्षणका लागि काँग्रेस प्रतिबद्ध रहेकोले स्थानीय व्यवसायी आफ्नै जिल्लाको विकासमा लाग्नुपर्नेमा सुझाव दिनुभयो । दमौलीमा पैसा कमाउने तर लगानी नगर्ने प्रवृत्ति रहेको बताउँदै वरिष्ठ नेता पौडेलले काठमाडौंमा लगानी गर्नुको साटो यहीँ लगानी गरे जिल्लाको विकास सम्भव रहेको चर्चा गर्नुभयो । 

नागरिक अधिकार सङ्कुचन गर्नेतर्फ सरकार लागेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले बोल्न नपाउने गरी बनाउन लागिएको कानूनले लोकतन्त्र खतरामा पर्ने बताउनुभयो । “सरकार अहिले नागरिकको अधिकारमाथि धावा बोल्ने गरी कानून बनाउँदैछ, यसतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ ।” 

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीलगायतले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवले कला, संस्कृतिको संरक्षणका साथै कृषि उपज वस्तु बिक्री वितरणका लागि टेवा पु¥याउने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर शुरु भएको महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, कृषि, पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा १४० कक्ष राखिएका छन् । महोत्सवमा रु पाँच करोडको कारोवार हुने र ४ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवबाट हुने आम्दानी सामाजिक काममा लगानी गरिने आयोजकले जनाएको छ । श्रेष्ठका अनुसार पैसा कमाउनका लागि मात्रै मेला महोत्सव आयोजना हुने गरेको गुनासो आउने गरेकोले महोत्सवबाट बचेको रकम सामाजिक क्षेत्रमा खर्च गरिनेछ ।

महोत्सवबाट भएको आम्दानी ब्यास नगरपालिका–३ स्थित भतेरीमा रहेको सार्वजनिक जग्गामा पूर्वाधार निर्माण र दमौली बजारमा हाटबजार सञ्चालनका लागि खर्च गर्ने योजना बनाइएको छ । “दमौलीमा मेला महोत्सव गर्न प¥यो भने ठाउँ अभाव भएको छ,” श्रेष्ठले भन्नुभयो, “भतेरीमा रहेको सार्वजनिक जग्गामा मेला महोत्सव गर्न सकिने सम्भावना भएकोले त्यहाँ पूर्वाधार निर्माण गर्ने सोच बनाएका छौं ।” 

साथै जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको प्रशासनचोक नजिकैको जग्गामा हाटबजार निर्माणका लागि महोत्सवको आम्दानी खर्च गरिनेछ । गाउँ–गाउँबाट कृषकले ल्याएको कृषिउपज सामग्री बिक्रीवितरणको व्यवस्था मिलाउन ब्यास नगरपालिकासँग समन्वय गरेर हाटबजार सञ्चालन गर्ने योजना सङ्घको छ । 

महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलबिहारको प्रचुर सम्भावना भए पनि जलबिहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलबिहार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीणवस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानहुँकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा कृषिलाई विशेष प्राथमिकतामा राखेर १५ कक्ष छुट्याइएको छ । महोत्सवस्थलबाटै कृषिजन्य सामग्री बिक्री वितरणको व्यवस्था मिलाइनेछ । कृषकलाई महोत्सवस्थलबाट सुन्तला, अदुवा, मास, तरकारीलगायतका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको सङ्घका महासचिव इमकुमार मल्लले जानकारी दिनुभयो । महोत्सव अवधिभर करीब रु २० लाखको कृषिजन्य उत्पादनको कारोवार हुने लक्ष्य लिइएको छ । साथै विभिन्न क्षेत्रबाट सहभागी कृषकमध्येबाट उत्कृष्ट कृषि उपजको आधारमा कृषकलाई पुरस्कारको समेत व्यवस्था मिलाइएको छ ।