छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

शनिबार, २८ मंसिर २०७६, १५ : २६
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काभ्रे, मोरङ, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

काभ्रे, नमोबुद्ध नगरपालिका ६ स्थित सडकमा बा ९२ प ५१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली सुनकोशी गाउँपालिका ३ बस्ने २९ वर्षीय प्रकाश दाहालको धुलिखेल अस्पतालमा उपचारको क्रमामा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुनकोशी गाउँपालिका ३ बस्ने ३१ वर्षीय नवराज दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मोरङ, सुन्दरहरैचा नगरपालिका १० किस्तिपुलस्थित सडकमा को २ ह २४०७ नम्बरको अटो रिक्शा अनियन्त्रित भई सडक किनारामा रोकी राखेको ना५ ख ५६०१ नम्बरको कन्टेनरको पछाडी ठोक्किएर शुक्रबार दुर्घटना हुँदा गम्भीर घाइते भएका अटोमा सवार  सोही नगरपालिका ९ बस्ने ४० वर्षीय दिपक संकरलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, सुखीपुर नगरपालिका(८ सुखीपुरमा स।१ त ८५६७ नम्बरको ट्याक्टरले खेत जोतने क्रममा ट्रयाक्टरले किचेर गम्भिर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय राजगिर महतोको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सिन्धुली, गोलन्जोर गाउँपालिका ६ देउरालीटारस्थित सडकमा प्रदेश ३–०१–००२ झ ४६९९ नम्बरको गाडीको ठक्करबाट रामेछाप, रामेछाप नगरपालिक–७ सुकाजोर बस्ने ५० वर्षीय शिव बहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ ।

उक्त स्थानमा ना १ ज ६९८५ नम्बरको जिप अचानक स्लिप खाएकोले रोकेर हेर्न जाने क्रममा जिपका चालक कार्कीलाई सो गाडीले ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि शुभजिवन अस्पताल खुर्कोट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।