कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार : प्रचण्ड

पत्रपत्रिकाबाट

आइतबार, ०८ मंसिर २०७६, ०६ : ४४
कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार : प्रचण्ड

बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार बाग्लुङको बुत्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

‘मैले राष्ट्रियताको कुरा गरेँ। नेपालमा सीमा समस्या पुराना समस्याका रुपमा छन्। त्यसमध्ये पनि कालापानी र सुस्ताका समस्या अलि जटिल र  गम्भीर प्रकृतिको थियो’, प्रचण्डले भने, ‘अहिले जसरी कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग सबै भारतको नयाँ नक्सामा देखाइएको छ। हामीले सुरुमै भन्यौँ। यो हामीलाई मान्य छैन। यसका निम्ति हामी जुनसुकै किमिसको पहल कदमी लिन तयार छौँ।’ 

प्रचण्डले भारतले नयाँ नक्सा प्रकाशित गरे लगत्तै सरकारले पनि यही कुरा भनेको उल्लेख गरे। ‘सरकारले त्यही कुरा भनेको छ। सरकारले तत्कालै सर्वदलीय र सर्वपक्षीय बैठक डाकेर राष्ट्रिय वातावरण बनाएको छ’, प्रचण्डले भने, ‘पछिल्लो पटक मैले र प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पठाएको पत्रको ड्राफ हेरेका छौँ। हामी राष्ट्रको  निम्ति एकतावद्ध छौँ, जनता एकतावद्ध छन्। सबै राजनीतिक दल एकताबद्ध छन्।’ 

प्रचण्डले धेरै अप्ठेरो परिस्थितिमा पनि जनताले साथ दिएको भन्दै अब पनि जनताको साथ निरन्तर रहने विश्वाससमेत व्यक्त गरे।  प्रचण्डले सानो चित्तबाट पार्टी एकता नभएकाले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सभामा सहभागी सबैलाई आग्रह गरेका छन्। 

‘सानो चित्तबाट नेकपा पार्टी एकता भएको हो। राष्ट्रको बृहत्तर हितको निम्ति र जनताको तागत सिर्जना गर्न एकता गरिएको हो’, उनले भने, ‘यहाँको चुनावी वाम गठबन्धन पनि त्यही एकताको कडीको रुपमा लिएको छु।’ प्रचण्डले जनमोर्चाका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्दै नियम नमान्नेले पार्टीको हित नगर्ने बताए। ‘अहिले नेकपा र जनमोर्चाको साझा उम्मेदवार हुनुहुन्छ। नेकपा भित्रका केही साथीले पार्टीको निर्णयको अवज्ञा गरेका छन्’, उनले भने, ‘नियम नमान्ने हो भने पार्टी भन्ने हुँदैन।’

नेकपामा एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीमा जोड दिने निर्णय भएकाले पार्टीभित्रका सबै ‘कन्फ्युजन’ साफ भएको उनको भनाइ छ। ‘पार्टीका एक अध्यक्षले सरकारमा जोड दिने अर्कोले पार्टीमा जोड दिने निर्णय भइसकेको छ’, प्रचण्डले भने, ‘अब कहिकतै ‘कन्फ्युजन’ छैन बाटो साफ भएको छ।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस