काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपाल समुहले पार्टीभित्र आफनो विचार समुहको रक्षा गर्न र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षको प्रतिरोध गर्न केन्द्र देखि जिल्ला तहसम्मै पुष्पलाल मित्रता केन्द्रमार्फत गतिविधि गर्ने भएको छ ।
प्रधानमन्त्री ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा देशब्यापी आफ्नो सुमहको गुटगत राजनीति गर्ने गरेको र त्यसलाई काउन्टर दिनका लागि पुष्पलाल मित्रता केन्द्रमार्फत अगाडी बढ्ने रणनीति नेपाल समुहले बनाएको छ ।
पुष्पलाल मित्रता केन्द्रको केन्द्रीय संयोजन समिति पनि नेपाल पक्षले बनाईसकेको छ । जसको अध्यक्षमा पूर्व सांसद तथा नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र महासचिवमा रबिन कोइराला छन् ।
एनजिओका रुपमा अगाडी आएको यो संस्थाले केन्द्र देखि जिल्ला तहसम्मै आफ्नो संरचना विस्तार गर्ने र पार्टीभित्रको समुहका गतिविधिलाई यही फोरममार्फत अधिकतम प्रयोग गर्ने नीति बनाएको छ ।
यो समुहको पहिलो बैठक हिजो बिहिवार थापागाउँस्थित पेसिडेन्टल विजनेस स्कुलमा बसेको छ । तत्कालिन एमालेभित्रका नेता माधव नेपाल समुहमा रहेका जनवर्गीय संगठनका पदाधिकारीहरुलाई निम्ताएर नेताहरु जगन्नाथ खतिवडा, जयन्ती राई, रबिन कोइरालालगायतले छलफल गरेका थिए ।
पुष्पलाल स्मृति दिवसका दिन काठमाडौंमा भब्य कार्यक्रम गरी सस्थाको औपचारिक घोषणा गर्ने र त्यसै दिन जिल्ला जिल्लामा पनि एकैपटक घोषणा गर्ने गरी तयारी भईरहेको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा पुष्पलाल मित्रता केन्द्रकी उपाध्यक्ष जयन्ती राईले बताएकी थिइन् ।
‘पार्टी चलाउनेसँग विचार रहेन, त्यही भएर विचार र विधि सहितको पार्टी चलाउनुपर्छ भन्ने उदेश्यका साथ वरिष्ठ नेता माधव नेपालसँगको परामर्शमा हामीले पुष्पलाल मित्रता केन्द्रमार्फत आफना गतिविधि तलैसम्म लैजान खोजेका हौं,’ आफु निकट जनवर्गीय संगठनका नेताहरुसँगको पहिलो बैठकमा नेतृ राईले भनिन्,–‘पार्टी अहिले कुनै विधि र प्रक्रियामा चलेको छैन । समाजवाद उन्मुख पार्टीका नीति , कार्यक्रम हुने भनिएपनि यसमा अध्यक्ष नै दुविधामा छन । हामी यस्तो बेला आफ्नो स्पष्ट भिजनका साथ तलैसम्म विस्तारित हुनुपर्छ ।’
माओवादी र एमाले एकतापछि बनेको नेकपाले अहिले जनताको जनवादलाई पार्टीको राजनीतिक कार्यदिशा बनाएको छ । तत्कालिन दुवै पार्टीका कार्यदिशालाई स्थगन गदै जनताको जनवाद लाई नेकपाले राजनीतिक कार्यक्रम बनाएको हो ।
यो कार्यदिशा अग्रगमन, यथास्थिती या पश्चगमनकारी कस्तो खालको कार्यदिशा हो भन्ने बहस पनि तलसम्म लैजानुपर्ने भन्दै बैठकमा सहभागी नेता खतिवडा सहितका नेताहरुले कार्यदिशामा उठेका प्रश्नहरुका सन्र्दभमा आफनो समुहको प्रष्ट एकरुप धारणा बनाएर अब छलफलमा जानुपर्ने बताएको बैठकमा सहभागी एक नेताले सफलखबरलाई बताए ।
बैठकमा खतिवडा, राई, कोइरालाका अतिरिक्त नेकपाकै केन्द्रीय सदस्यहरु दिलुकुमारी पन्त, विश्वनाथ प्याकुरेल, प्रमल खनाल सांसद उदय शर्मा, कलिला खाँ लगायत झण्डै ४ दर्जन नेताहरुको सहभागिता थियो ।
उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सञ्चालनको कार्यशैलीको पनि खुलेर विरोध गरेका थिए । ‘दुई तिहाईको सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्, तर उहाँले समग्र पार्टीको सल्लाहमा सरकार चलाउनु भएको छैन, गुटको घेरामा सरकार चलाईरहनु भएको छ, ’बैठकमा नेता खतिवडाले भनेको भनाइृ उदधृत गदै एक सहभागीले भने, –‘सरकार सञ्चालनको अहिलेको पद्धतीले पार्टी झन बदनाम हुदै गएको छ ।’
नेतृ राईले त अझ अहिलेको सरकारको कार्यशैलीका कारण कोही पनि सन्तुष्ट नभएको बताएकी थिइन् । ‘दुई तिहाईको सरकार हुँदा पनि शिर उठाएर हिड्न सकिएन, कोही सन्तुष्ट छैनन । काम गर्न अहिले के ले छेकेको छ ?’ कार्यक्रममा उपस्थित जनवर्गीय संगठनको नेताहरुलाई स्वागत गदै मन्तब्य दिएकी राईले भनिन्, ‘अहिले स्थानिय चुनाव हुने र पार्टी चुनावमा जाने हो भने जताततै पार्टीले लज्जाजनक हार ब्यहोर्नुपर्ने अवस्था छ । यसको दोषी प्रधानमन्त्री हुन् । उहाँले सरकार चलाउनै जानेनन् ।’
पार्टीभित्र अनेकथरी विचार समुह देखा पर्न थालेको भन्दै उनीहरुले आफ्नो समुहलाई संगठित गर्ने र सामुहिक रुपमा पार्टीभित्रको अर्काे समुहको वैचारिक प्रतिरोध गरेर जान नेताहरुले जनवर्गीय संगठनका नेताहरुलाई निर्देशन दिएका थिए ।
नेकपाभित्र पूर्व एमाले समुहमा यस्ता संस्थाको मार्फत गुटगत राजनीति विगतमा पनि हुँदै आएको थियो । मदन भण्डारी फाउन्डेसनका नाममा प्रधानमन्त्री ओली समुहले र मदन भण्डारी अध्ययन केन्द्रका नाममा माधव नेपाल समुहले गतिविधि गदै आईरहेका थिए । फेरि अहिले नेपाल समुहले अर्काे सस्था जन्माएर रणनीतिक रुपमा आफ्नो समुह संगठित गर्ने योजना बनाएको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०७६, ०७ : २२
लेखकबाट थप