बालिका बलात्कार गर्नेहरु धमाधम पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १२ : ५८
बालिका बलात्कार गर्नेहरु धमाधम पक्राउ

चितवन । बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका चितवनका दुई व्यक्ति पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ५ छरछरेका ३८ वर्षीय शमशेर विक र भरतपुर महानगरपालिका १६ का २५ वर्षीय गोपाल भन्ने सुभाष परियार पक्राउ परेका हुन् । 
शमशेरविरुद्ध गत वैशाख ६ गत्तते स्थानीय १५ वर्षीया बालिकालाई काँसघारीमा जबरजस्ती करणी गरी फरार भएको किटानी जाहेरी परेको थियो । उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सिमाना सुनौली नाकाबाट बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । शमशेरलाई आजै जिल्ला अदालतबाट म्याद थपी कानुनी प्रकृया अगाडि बढाइएको छ । 
बालिका बलात्कारकै अभियोगमा परियारलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध १२ वर्षीया बालिकालाई घरमा बोलाई चुकुल लगाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको थियो । परियारले जबरजस्ती करणी गरी फरार रहेको अवस्थामा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । परियारलाई आजै जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्ष वा सोभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरे चौध वर्षदेखि सोह्र वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ । यस्तै, चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्ष वा सोभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरे बाह्र वर्षदेखि चौध वर्षसम्म सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस