अनुमानका आधारमा वाइडबडी खरिद प्रकरणमा मलाई आरोप लगाइयो : मन्त्री अधिकारी

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०७५, ११ : १३
अनुमानका आधारमा वाइडबडी खरिद प्रकरणमा मलाई आरोप लगाइयो : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनुमानका आधारमा आफूमाथि अनियमितताको आरोप लागेको बताएका छन् ।

सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले  सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै संलग्नता नरहेको दावी गरे । उनले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको बताए ।

निगमका वाइडबडी खरिदका सम्बन्धी प्रकृया २०७१÷७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट बिनियोजन हुँदै आएको बताए । उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रकृया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताए । आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनले जिकिर गरे ।

साथै उनले वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नहरुको निश्पक्ष छानविन गर्न पनि आग्रह गरेका छन् । त्यसमा अफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता पनि मन्त्री अधिकारीले जनाएका छन् ।

पत्रकार सम्मेलनको सुरूमा मन्त्री अधिकारीले आफूले पद सम्हालेयता भएका कामको बारे चर्चा गरेका थिए । त्यसपछि वाइड बडी खरिद गर्न विभिन्न समयमा भएका निर्णय र पक्रियाबारे बताए ।

 

प्रतिक्रिया दिनुहोस