शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

सफल खबर संवाददाता

शनिबार, ०८ मंसिर २०८१, १४ : ५१
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्किजल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रवारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दुई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा‍.शैल रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुति रहनेछ । यस्तै २५ भन्दा बढी सर्किजल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उनले बताए ।

कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उनको भनाई छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्य चिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिवारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ ।

“देश विदेशका शल्य चिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा.रुपाखेतीले भने, “सम्मेलनका अवसरमा शल्य चिकित्सका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।

सम्मेलनमा अतिथिका रूपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए ।

सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।

अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुर्व्यवहारका घटना निन्दनीय रहेको भन्दै उनले त्यस प्रकृतिका क्रियाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गरे । प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताए ।

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ । उनले शल्य चिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा ‘साउन एसियन सर्किजल केयर सोसाइटी’का अध्यक्ष डा.सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्त्व र आयामबारे विचार व्यक्त गरेका थिए ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भुटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्य चिकित्सक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस