खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १४ : २६
खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । कृषि मौसम सल्लाह बुलेटिन मार्फत खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न नदिन पानी निकासको उचित व्यवस्था गर्न नार्कले आग्रह गरेको हो ।

यस्तै, धानबालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागी धान खेतबाट पानीको निकास, खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास, नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३–४ दिन पछि मात्र धान काट्न आग्रह गरिएको छ ।

यस्तै, हावाहुरीबाट लडेको धानको बोटलाई बाँधेर खडा गर्न, बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बाला सुकाउन, काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आली कान्लामा सुकाउन आग्रह गरिएको छ ।

यस्तै, भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल ( पराल ) बाट छुट्याउन, चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला बेला धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्न भनिएको छ । भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी चिउरा र भुजा बनाई प्रयोगमा ल्याउन सकिने सुझाइएको छ ।

विभिन्न तरकारीबालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको उचित प्रबन्ध गर्न भनिएको छ । यस्तै, साताभरि नै मनसुनी वायुको प्रभावका कारणले पानी परी खेतबारीहरूमा पानी जम्ने वा हुने बाढीमा मुसा, छुचुन्द्रो आदिको मलमूत्रबाट सर्ने लेप्टोस्पाईरोसिस जस्ता मानिसमा पनि सर्न सक्ने जीवाणुहरू प्रशस्त मात्रामा पाइन सक्ने हुँदा, खेतबारीमा जाँदा बुट लगाएर मात्र जान नार्कको आग्रह छ ।

यस्तै, चिसो ठाउँमा भण्डारण गरेको दाना र परालमा ढुसीको सङ्क्रमण हुन गई पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु मर्न समेत सक्ने भएकोले पशुवस्तुलाई खुवाउने दाना र पराललाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नु पर्ने नार्कले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस