झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईं समूहका थप ६ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, ११ : ४६
झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईं समूहका थप ६ जना पक्राउ

काठमाडौँ । असोज ६ मा झापामा दुई वटा ट्रकमा आगजनी गर्ने थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूले कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक जलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीरबहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु छन् ।

यसअघि दुई जनालाई पक्राउ गरेर आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले  बताए ।

रुद्र भुजेल प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् । विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीरबहादुर गुरुङ अभियाको सल्लाहकार हुन् ।

सिलीगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरुले पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस