भुटानलाई  १ सय १७ रनले हराउँदै नेपाल शीर्ष स्थानमा

मंगलबार, २३ असोज २०७५, १३ : ५०
भुटानलाई  १ सय १७ रनले हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौँ । आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

भुटानको इनिङसमा सर्वाधिक स्कोर बनाएका तेन्जिङ वाङचुक जुनियरले ११ रन जोड्नेक्रममा २ चौका प्रहार गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । जसका लागि ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधीक ७५ रन बनाएका थिए भने अनिलकुमार शाहले २७, दिपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले ११ रनको योगदान गरेका थिए ।

नेपालको ४ विकेट लिने क्रममा भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक-एक विकेट लिएका थिए ।

यस जितसँगै नेपाल लगातार ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले बुधबार हुने खेलमा चीन र शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस