काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ ।
यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको हो । एपिएफले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । आजै हुने पहिलो खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमीबीच खेल हुनेछ । भलिबल खेलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिएको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस