करेन्ट चाउचाउबारे भ्रम फैलाइयो, कानूनी कारबाहीका लागि प्रक्रिया शुरू भएको छ : यशोदा फुड्स

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १६ : ४१
करेन्ट चाउचाउबारे भ्रम फैलाइयो, कानूनी कारबाहीका लागि प्रक्रिया शुरू भएको छ : यशोदा फुड्स

काठमाडौं। ​​​​करेन्ट चाउचाउबारे भ्रम फैलाइएको भन्दै उत्पादक यशोदा फुड्स प्रालिले आपत्ति जनाएको छ ।‘गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो’ भन्ने नाराका साथ अगाडि बढेको कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै करेन्ट चाउचाउबारे भ्रम फैलाइएको जानकारी दिएको हो ।

‘यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालिटी)मा विशेष सजगता अपनाई आएको ब्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरूको भावनामाथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरूप्रति सचेत रहेको ब्यहोरा सादर अनुरोध गर्न चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यशोदा फुड्सका उत्पादनहरू नेपालका साथै भारत, जापान, यूएई, बहराइन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानडा, इटाली लगायतका देशहरूमा समेत निर्यात हुँदै आएका छन् ।

 

साथै उपभोक्ताको रोजाइमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरूको जिब्रोमा बस्न सफल भएको कम्पनीले दाबी गरेको छ ।‘उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाणबिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरूप्रति उद्योग सजग रहेको छ ।

हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मनोगढंत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौं ।’

कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेविरुद्ध प्रचलित साइबर कानूनी कारबाहीका लागि आवश्यक कदम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।'...कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरूविरुद्ध प्रचलित साइबर कानून लगायतका प्रचलित नेपाल कानून बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको ब्यहोरा समेत सम्पूर्ण उपभोक्ता महानुभावहरूमा सादर अवगत गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस