बुटवल। हाफ् राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन काफ्लेले हात पारेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको राष्ट्रिय हाफ म्याराथन तथा रोड प्रतियोगिताको उपाधि काफ्लेले २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरे । बुटवल राजमार्ग चौराहाबाट शुरू भएको रेस, योगिकुटी मणिग्राम, भलबारी, पत्थरडाँडा हुँदै योगिकुटी आएर समापन भएको थियो ।
म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार जिते । ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमासेनाकै नरेन्द्र रावत दोश्रो भए । १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन् ।
बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन् । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन् । चौथो बनेका बुढाले ३० हजार, पाँचौं बनेका श्रीष लालले २० हजार र छैटौं बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगितासमेत आयोजना गरेको थियो ।
जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरीय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरीय खुल्ला छात्र र तीन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो ।
सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंसम्म हुने खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट धावकहरूलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय हाफ् म्याराथनमा सेनाको दबदबा