काठमाडौँ । पूर्व मन्त्री एवम् माओवादी केन्द्रकी स्थायी समिति सदस्य कमला रोकाले विधान अधिवेशन पार्टी इतिहासमा क्रान्तिकारी छलाङ भएको बताएकी छिन् । केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था अनुमोदन हुनु क्रान्तिकारी छलाङ भएको रोकाको निष्कर्ष रहेको छ । माओवादीको फागुन (१–३) सम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले मिश्रित प्रणाली (केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट चुनिने र पदाधिकारी केन्द्रीय समितिले चुन्ने) प्रावधान अनुमोदन गरेको थियो ।
‘केन्द्रीय समिति निर्वाचन प्रक्रियाबाट चुनिने व्यवस्था पार्टीको इतिहासमा पहिलोपटक भएको हो । यो एक हिसाबले क्रान्तिकारी छलाङ हो । अहिलेसम्म सहमतिबाट समिति गठन हुने गरेको थियो । अब केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट हुन्छ । पदाधिकारी समितिले चुन्नेछ । अहिलेको सन्दर्भमा यो प्रणाली ठिक छ’, अधिवेशनको निर्णयलाई समर्थन गर्दै उनले भनिन् ।
सबै तहमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने २० वटै समूहबाट अत्यधिक सुझाव आएको थियो । तर सबै तह प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्ने सुझाव मान्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएनन् । यद्यपि केन्द्रीय समिति निर्वाचन प्रणालीबाट चुन्न उनी राजी भए ।
यस्तै झन्डै पचास प्रतिशत प्रतिनिधिले पार्टीको नाम र चिन्ह फेर्नुपर्ने सुझाव दिएका थिए । यो सुझाव अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरेका थिए । तथापि पार्टीको नाम यथावत् राख्ने र पदाधिकारीको निर्वाचन प्रत्यक्ष निर्वाचनबाट नहुने व्यवस्थाको रोकाले समर्थन गरिन् । पार्टीको निश्चित मापदण्ड नबनाई प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा नेतृत्व प्रस्टीकरणमा जाने खतरा रहेको उनको बुझाइ छ ।
‘अहिले नै सबै तहमा प्रत्यक्ष निर्वाचन भन्दा भ्रष्टिकरण हुने सम्भावना हुनसक्छ । जनवादी केन्द्रीयता मर्न सक्छ । विधानमै मापदण्ड बनाएर गएमा समस्या हुँदैन । माओले प्रतिवादन गरेको सङ्गठनात्मक सिद्धान्तलाई अङ्गीकार गरेका छौँ ।
प्रत्यक्ष निर्वाचन अङ्गीकार गरे पनि निश्चित मापदण्ड बनाउन आवश्यक छ’, उनले भनिन्, ‘बलिदान गरेका, निष्ठाको राजनीति गरेका, इमानदार र निस्वार्थ भावनाले हिँडेका व्यक्तिहरूलाई स्पेस दिनेमा ध्यान दिनुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणाली भन्दै गर्दा गुटगत प्रभाव, पावर, पैसाको खेल हुनसक्छ । संसदीय विकृति पार्टीभित्र भित्रिने खतरा रहन्छ । त्यो खतरालाई रोक्न पनि निश्चित मापदण्ड बनाऊ आवश्यक छ । निर्णयले सांगठननिक समस्याको निकासको बाटो खुला भएको छ ।’
पार्टीभित्र योपटक जनवादी केन्द्रीयता राम्रोसँग अभ्यास भएको उनको तर्क रोकाले जिकिर गरिन् । उनले पदाधिकारीसहित सबै तहमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न अध्यक्ष प्रचण्डले प्रतिबद्धता गरेको भन्दै उनले कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरिन् ।
यस्तै नेसपासँग एकताको विषयमा पनि बैठकमा घनिभूत छलफल उनले दाबी गरिन् । एकताका लागि ढोका सधैँ खुला रहेको रोकाले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १२ : ४३
लेखकबाट थप