जकार्ता : १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् ।
पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६-० ले पराजित गरे । पहिलो सेट २७-२५ ले जितेका तिलकले दोस्रो सेटमा २६-२५ को जित हात पारेका थिए । तेस्रो सेटमा २९-२३ को जित दर्ता गर्दै तिलक अर्को चरणमा प्रवेश गरेका हुन् । छनोटमा ६ सय ४१ अंक जोड्दै ३७ औं स्थान हासिल गरेका तिलकले राम्रो प्रदर्शन गरे । उनले अब क्वाटरफाइनल प्रवेशका लागि चीनका जु तियान्युको सामना गर्नेछन् ।
सोहि स्पर्धामा अर्का खेलाडी रोशन नगरकोटीले श्रीलंकाली खेलाडी सजीव डा सिल्भासँग ६-० ले पराजित भए । श्रीलंकाली खेलाडी २७-२४, २८-२४, २७-२५ ले विजयी हुँदै प्रि-क्वाटरफाइनल पुगेका छन् । सजीवले अब चाइनिज ताइपेइका वेई चुङहेङको सामना गर्नेछन् ।
ज्ञानु हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् । पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब हुँदा ज्ञानु २६-२१ ले विजयी रहिन् । चौह्तो सेटमा लामले पुन लय समातिन र ज्ञानु २८-२३ ले पछि पर्दै खेल गुमाउन पुगिन् ।
यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेर एलिमिनेसन चरणको लागि छनोट भएकी थिइन् । छनोटमा ६८ खेलाडीले सहभागिता जनाएका थिए । ज्ञानुलाई पराजित गरेकी लामले अब चाइनिज ताइपेइकी तान याटिङको सामना गर्नेछिन् ।
नेपालबाट असिम शेरचन र मिनप्रसाद गौचनले छनोट चरण पार गर्न सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस