एजेन्सी । क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहम्मद सलाह युइएफए वर्ष खेलाडी अवार्डका लागि अन्तिम मनोनयनमा परेका छन् ।
युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले हरेक वर्ष प्रदान गर्ने युइएफए वर्ष खेलाडी अवार्डका लागि युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो, रियल मड्रिडका मिडफिल्डर मोड्रिक र लिभरपुलका फरवार्ड सलाह अन्तिम तीनमा परेका हुन् । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् ।
रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियलबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।
यस्तै रियलमा अघिल्लो सिजन उत्कृष्ट समय बिताएका मिडफिल्डर लुका मोड्रिच पनि अन्तिम तीनमा पर्न सफल भए । गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया रसिया विश्वकपको उपविजेता बन्न सफल भएको थियो ।
इजिप्टका सलाहले इंग्लिस प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएका थिए । च्याम्पियन्स लिगमा लिभरपुल उपविजेता बनाउन सलाहले उच्च प्रदर्शन गरेका थिए।
खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी भने शीर्ष तीनमा पर्न सकेनन् । अन्तिम तीनमा परेकाबाटै वर्ष खेलाडीको छनोट हुनेछ । आगामी भदौ १४ गते मोनाकोमा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरण ड्र को क्रममा वर्ष खेलाडीको घोषणा हुने युइएफएले जनाएको छ । यसअघि सन् २०१७ मा रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।
यस्तै महिला वर्ष खेलाडीका लागि पिर्निली हार्डर, एडा हेगरबर्ग र एमान्डिन हनरी अन्तिम तीनमा परेका छन् ।
शीर्ष १० मा क्रमशः एन्टोनियो ग्रिजमान, लियोनेल मेस्सी, कायलिन एमबाप्पे, केभिन डि ब्रुयना, राफायल भरान, एडिन हजार्ड र सर्जियो रामोश रहेका छन् ।
सन् २०१०–११ मा शुरु गरियो यो अवार्डका विजेतामा आन्द्रेस इनियेस्टा, फ्रांक रिबरी र रोनाल्डो रहेका छन् । रोनाल्डोले लगातार दुई जित्न सफल भएका छन् । उनी लगातार शीर्ष तीनमा पनि पर्ने एक्लो खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ भदौ २०७५, ०९ : ५५
लेखकबाट थप